सन् १९९९ मा काठमाडौंमा भएको आठौँ दक्षिण एसियाली खेलकुद (साफ)मा ३१ स्वर्णका साथ नेपालले प्रतियोगितामा दोस्रो स्थान बनायो । २६ वर्षअघिको सो प्रतियोगितामा घरेलु महिला पौडीबाजले रिले इभेन्टमा आश्चर्यचकित बनाउँदै स्वर्ण दिलाएका थिए । तीमध्ये एक थिइन्, नयना शाक्य । प्रतियोगिता सुरु हुनुअघि पौडीले कांस्य पदकसम्म जित्ने अनुमान थियो । रिलेमा भारत र श्रीलंकाली खेलाडी ‘अयोग्य’ ठहरिएपछि नेपालले स्वर्ण जितेको हो । साफमा पहिलोपटक स्वर्ण जितेको स्मरण अहिले पौडीकी प्रशिक्षक रहेकी शाक्यले नयाँ पत्रिकाकर्मी रमेश सुवेदीलाई यसरी सुनाइन् :
सन् १९९९ मा काठमाडौंमा आठौँ दक्षिण एसियाली खेलकुद (साफ) आयोजना भएको थियो । नेपालले दोस्रोपटक साफ आयोजना गर्ने अवसर पाउँदा घरेलु खेलाडी धेरै आत्मविश्वासी थिए । साफमा स्विमिङको विधा पनि समावेश थियो । प्रतिस्पर्धाका लागि छनोट हुँदा म १५ वर्षकी थिएँ । नेपालले १२ विभिन्न खेल समावेश गरेको थियो । राज्यले राम्रो प्रशिक्षणको व्यवस्था मिलाएको थियो । स्विमिङको प्रारम्भिक चरणमा १५ पुरुष र १० महिला खेलाडी थिए । हामीले साफकै लागि बनेको सातदोबाटोमा नयाँ स्विमिङ पुलमा प्रशिक्षण गरौँ । हामीलाई चिनियाँ प्रशिक्षकले दुई महिना जति प्रशिक्षण गराएको जस्तो लाग्छ । उहाँबाट धेरै सिक्ने अवसर पाएँ ।
साफ सुरु हुनु दुई महिनाअघि नयाँदिल्लीमा अन्तर्राष्ट्रिय पौडी भयो । यो साफको अन्तिम तयारीजस्तो थियो । सहभागी खेलाडीमध्ये म एक किसिमले अलराउन्डरजस्तै थिएँ । स्विमिङको मुख्य विधा मानिने ब्रेक स्टोक, रिले र बटरफ्लाईमा मेरो प्रदर्शन राम्रो भयो । साफमा छनोट हुँदा म स्विमिङकै कान्छी खेलाडीजस्तै थिएँ । नयाँदिल्लीमा तेस्रो स्थान हात पार्दै फर्किएँ ।
अन्तिम टाइमिङ सार्वजनिक हुँदा शीर्ष दुई स्थानमा रहेका भारत र श्रीलंकाली ‘अयोग्य’ ठहरिएपछि तेस्रो स्थानमा रहेको नेपालले स्वर्ण पदक जितेको हो
यसबिच फेरि आठौँ साफको तयारीमा रहेका खेलाडीलाई नेपाली र चाइनिज प्रशिक्षकबाट प्रशिक्षण भएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले क्लोज क्याम्पमा रहेका विभिन्न खेलका खेलाडीलाई होटेलमा राखेको थियो । हामी स्विमिङ टोली ठमेलमा बसेका थियौँ । हाम्रो समयमा अहिलेजस्तो सुविधा कहाँ थियो र ? त्यतिवेला ६ महिना स्विमिङ गर्ने अनि बाँकी ६ महिना सुत्ने हो । त्यो समयमा अहिले हिटिङ स्विमिङको व्यवस्था थिएन । अहिले १२ महिना नै खेलाडीले प्रशिक्षण गर्ने मौका पाएका छन् । अहिले आफ्नो फिटनेस बनाउन खेलाडी बाहिर गएर प्रशिक्षण गर्छन् । हामीले गौरिका सिंह र डुवाना लामाजस्ता खेलाडी पाएका छौँ । उनीहरू बाहिर नै अभ्यास गरिरहेका छन् । यद्यपि, प्राप्त सुविधामै हामीले नवौँ साफको तयारी गर्यौँ ।
स्विमिङबाट कांस्यको आशा
नवौँ साफको स्विमिङमा नेपाल, भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानले प्रतिस्पर्धा गरेका थिए । रिलेमा हामी दक्षिण एसियाकै बलियो टोली थियौँ । सम्भवतः यसकारण नै पदक आउँछ भन्ने सबैलाई रहेछ । रिलेबाहेक अन्य विधामा भारत र श्रीलंका बलिया प्रतिस्पर्धी थिए । राम्रो एक्सपोजर पाएका भारत र श्रीलंकाली खेलाडीविरुद्ध स्वर्ण जित्नु भनेको दिउँसै सपना हेर्नुजस्तो थियो । हाम्रो भने स्वर्णपदक जित्ने किसिमले तयारी थिएन ।
दशरथ रंगशालामा साफको आधिकारिक रूपमा उद्घाटन हुँदा अलि दबाबको महसुस गरेँ । सम्भवतः करिअरकै सबैभन्दा ठुलो मेघा इभेन्टमा राष्ट्रको प्रतिनिधित्व गरेकी थिएँ । फेरि त्यसमा पदक आउने वा नआउने केही टुंगो थिएन । तर, कम्तीमा साफको कांस्य पदक झुन्ड्याउने रहर भने थियो । बिस्तारै खेल नजिकिँदै थियो, व्यक्तिगत रूपमा कस्तो प्रदर्शन हुन्छ भन्ने डर थियो ।
हेर्दा–हेर्दै स्विमिङको पनि इभेन्ट सुरु भयो । पौडी खेल दरशथ रंगशालाको पौडी पोखरीमा भएको थियो । इतिहास बोकेको त्यो पौडी पोखरीको अहिले अस्तित्व हराएको छ । अहिले पनि राखेपको पौडी पोखरीनजिक पुग्दा मेरो मन भावुक हुन्छ । किनभने, मैले यही पोखरीमै ऐतिहासिक स्वर्ण पदक जितेकी थिएँ ।
अन्तिम टाइमिङको प्रतीक्षा
स्विमिङको मुख्य स्पर्धाको दिन होटेलदेखि पौडी पोखरीसम्मको यात्राक्रममा अनेकौँ कुरा खेलिरहेका थिए । भर्खरकी १५ वर्षीया पौडी खेलाडीले साफमा कस्तो नतिजा हात पार्छे ? आशा गरेको जस्तो पदक आउँछ वा आउँदैन ? कहीँकतै पौडी पोखरीमा नर्भस हुने होइन ? यस्तै किसिमले मनमा कुरा खेलाउँदै गएकी थिएँ । कति खेर राखेपको पौडी पोखरीमा पुगेँ मेसो नै पाइनँ । हाम्रो खेल हेर्न मन्त्री, राखेपका पदाधिकारी, संघका पदाधिकारीहरू उपस्थित भएका थिए ।
हामीले रिले इभेन्ट्समा प्रतिस्पर्धा गर्यौँ । नेपालको टोलीमा मसँगै स्तुति सिंह, रुबिना प्रधान र रुना प्रधान थिए । रुबिना र रुना दिदी–बहिनी हुनुहुन्थ्यो । रिलेमा भारत र श्रीलंकाका खेलाडी राम्रा थिए । उनीहरूलाई चुनौती दिन गाह्रो थियो । आशा गरेको जस्तै हामीले घरेलु समर्थकमाझ कांस्य पदक जित्यौँ । हाम्रो टाइमिङ कांस्य पदकको थियो । तर, खेलको अन्तिम नतिजा आउन बाँकी थियो । पौडी पोखरीमै अन्तिम टाइमिङ प्रतीक्षा गर्यौँ ।
अरूभन्दा पनि खेलाडीको व्यक्तिगत टाइमिङ कस्तो होला भन्ने थियो । यस रिले इभेन्टमा नेपालको कांस्य पक्का–पक्की नै भइसकेको थियो । केही बेरको पर्खाइपछि पौडी पोखरीमा एउटा हल्ला चल्यो । भारत र श्रीलंकाली खेलाडीको ‘टिम डिसक्वालिफाइड’ भयो रे ! यस्तो भनाइ सुनेँ, ‘भारत र श्रीलंकाली खेलाडीले छिट्टै डाइभ लगाए, सेलेब्रेसन चाँडै गरे र अन्तिम टर्चलाइन नै छोएनन् रे ।’ केही समयसम्म यस्तै हल्ला सुनिएको थियो । थोरै अन्तरले नेपाल तेस्रो भएको छ भन्ने रह्यो । हामी यसैमा खुसी थियौँ ।
नतिजा देख्दा सबै ‘सरप्राइज’
अन्ततः प्रतीक्षाको घडी समाप्त भयो । आधिकारिक रूपमा अन्तिम नतिजा आयो । एक क्षण सपना वा विपनाजस्तै लाग्यो । पौडी पोखरीमा रहेका खेलाडी, समर्थक, अफिसियल आदि ‘सरप्राइज’जस्तै भए । तेस्रो स्थानमा रहेको नेपाल एकैपटक शीर्ष स्थानमा पुगेको थियो । यो भनेको नेपालले अब कांस्य नभएर स्वर्ण पदक जितेको थियो । अरे ! यो कसरी सम्भव भयो त ? अघि जस्तो हल्ला सुनेकी थिएँ, आखिरमा त्यस्तै भएको रहेछ । भारत र श्रीलंकाली खेलाडी रिलेमा ‘अयोग्य’ भएका रहेछन् । अफिसियलले दुवै राष्ट्रका खेलाडीलाई अनुशासनको कारबाही गरेका थिए ।
स्विमिङको नियम र अनुशासन कडा नै छ । यसमा खेलेर मात्र हुँदैन, खेलाडीले अनुशासित रूपमा प्रतिस्पर्धा गर्नुपर्छ । खेलाडीले कतिको अनुशासन पालना गरेको छ, सबै हेरिन्छ । खेलमा अन्तिम लाइन टर्च गरेको विषय आउँछ । एक खेलाडीले आफ्नो प्रतिस्पर्धीलाई बिचमै रोक्ने काम गर्नुहुँदैन । त्यस्ता पक्ष खेलाडीले ध्यान दिनुपर्छ । स्वर्ण जितेको भारत र रजत हात पारेका श्रीलंकाली खेलाडी अयोग्य घोषित हुँदा हामीले स्वर्ण पदक चुम्यौँ ।
राष्ट्रिय गानको धुन बजेको समयमा स्वर्ण पदक झुन्ड्याइरहँदा खुसीले गद्गद भएकी थिएँ । किनभने, यो स्वर्ण हाम्रो भाग्यमा थिएन । हामीले केवल कांस्य पदकसम्म लक्ष्य राखेका थियौँ । त्यो स्वर्ण ‘सरप्राइज गिफ्ट’जस्तै थियो । यद्यपि, साफमा स्वर्ण जितेपछि खुसीको सीमा नै भएन । त्यो ऐतिहासिक क्षण सम्झँदा अहिले पनि रोमाञ्चित हुने गर्छु । भारत र श्रीलंकाली टोली ‘अयोग्य’ हुँदा विवाद नहुने कुरै भएन । जर्ज प्यानलले सबै प्रस्ट पार्नुभएको थियो । उनीहरूले नेपाललाई स्वर्ण दिलाउन यस्तो गरेको भन्ने आरोप लगाएका थिए । तर, अन्तिम निर्णय जर्ज प्यानलकै हुन्छ ।
कानको समस्याले बास्केटबलतिर लागेँ
मैले कानको समस्या सेयर नै गरिनँ । १८–१९ वर्षको उमेरमै पानीभित्र छिर्दा कान पाक्ने, पिप जम्ने र छालामा समस्या आउन थाल्यो । डाक्टरहरूले स्विमिङ खेल्न नमिल्ने भनेपछि मानसिक दबाब भयो । मलाई यो खेल छाड्न मन थिएन । धेरैले केही समय स्विमिङबाट ‘ब्रेक’ लिन सुझाव दिए । पब्लिक युथ कलेजमा पढ्दा बास्केटबल पनि खेल्ने गरेकी थिएँ । सन् २००४ देखि बास्केटबल खेल्न थालेकी हुँ । बास्केटबलमा छोटो समयमै सफल भएँ । स्विमिङ नखेल्दा बास्केटबलमा धेरै सुधार भयो । श्रीलंकामा बिच बास्केटबल हुने भयो । बास्केटबलका प्रशिक्षक हुनुहुन्थ्यो विकास । उहाँले बिच बास्केटबल खेल्न तयार हुनुपर्छ भन्नुभयो । श्रीलंका जाने चारजना खेलाडीको टोलीमा म पनि छनोट भएँ । नेपाल बास्केटबल संघका तत्कालीन अध्यक्ष लामा टेन्डी शेर्पा सरले मलाई कप्तानी जिम्मेवारी दिनुभयो ।