अनलाइन जुवा तथा क्रिप्टो करेन्सीको कारोबारको आरोपमा आइतबार काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका २३ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले मंगलबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।
परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार उनीहरूले एउटा घर नै भाडामा लिएर अनलाइनमार्फत अपराध गर्दै आएका थिए । तीन अर्बभन्दा धेरैको अनलाइन जुवा तथा ५० करोडभन्दा धेरैको क्रिप्टोकरेन्सीको कारोबार गरेको अनुसन्धानमा खुलेको छ । भारतीय नागरिकले घर भाडामा लिएर अनलाइनसम्बन्धी अपराध गर्दै आएका थिए । भारतीयलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
हालसम्मको अनुसन्धानमा तीन अर्ब १३ करोड रुपैयाँ बराबरको अनलाइन जुवा तथा ८६ करोड ९१ लाख रुपैयाँ बराबरको क्रिप्टोकरेन्सीको कारोबारी गरेको तथ्य खुलेको छ । गिरोहका मुख्य नाइके भने फरार रहेको प्रहरीले जनाएको छ।
