माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले पाएको अधिकार खोस्ने गरी संविधान संशोधन हुन नसक्ने बताएका छन् । संविधान निगरानी समूहले आइतबार राजधानीमा आयोजना गरेको ‘संविधान कार्यान्वयनको एक दशक र संवैधानिक सुधारको आवश्यकता’ विषयक संवाद कार्यक्रममा उनले अहिले संशोधनभन्दा संविधानको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । संविधान कार्यान्वयनका लािग जतिसक्दो चाँडो आवश्यक कानुन बनाउनुपर्ने उनको भनाइ थियो ।
‘अहिले पनि परिवर्तनविरोधी ठुलो तप्कामा संघीयता कार्यान्वयन गरेर जनतालाई बलियो बनाउनेतिरभन्दा संघीय रूपमा केन्द्रित भएर बस्ने राजनीतिक र प्रशासनिक अधिकार आफूसँगै राख्ने मानसिकता जब्बर रूपमा रहेको छ । यो संविधान कार्यान्वयनका लागि ठुलो समस्याका रूपमा रहेको छ,’ प्रचण्डले भने, ‘यसले गर्दा बिस्तारै जनतामा फेरि अर्को आन्दोलन गर्नुपर्ने हो कि भन्ने मानसिकता बन्दै गएको छ, नेतृत्वपंक्तिले वेलैमा नसोच्ने हो भने यो अवस्था धेरै टाढा छैन ।’
अहिले एकातिर शान्ति प्रक्रिया टुंग्याउनुपर्ने र अर्कोतिर संविधानमाथिको प्रतिगामी प्रहारलाई रोक्नुपर्ने आवश्यकता भएकाले प्रमुख दलहरू मिलेर नै अघि बढ्नुपर्ने अवस्था रहेको उनले औँल्याए । गम्भीर आत्मसमीक्षासहित अघि बढ्नुपर्ने उनको भनाइ थियो । ‘दुई ठुला दलले जनताको असन्तुष्टिलाई गम्भीर रूपमा लिएनन् भने सामान्य अवस्थामै मुलुक अघि बढ्न सक्दैन । गम्भीर आत्मसमीक्षासहित अघि बढ्न आवश्यक छ,’ उनले भने ।