नागार्जुनका मेयर बस्नेतविरुद्ध पौने नौ करोड गैरकानुनी सम्पत्ति आर्जनको अर्को मुद्दा दायर

आइतबार, २७ माघ, २०८१
डिजिटल संस्करण

काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध करिब आठ करोड ७० लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध गैरकानुनी सम्पत्तिसम्बन्धी मुद्दा दायर गरेको हो । एक महिनाअघि मात्रै अख्तियारले बस्नेतविरुद्ध गैरकानुनी आर्जन र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । 

सार्वजनिक पदको दुरुपयोग गर्दै बस्नेतले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ । बिगो जफत प्रयोजनका लागि अख्तियारले उनकी पत्नी उर्मिला बस्नेतलाई पनि प्रतिवादीका रूपमा राखेको छ । आइतबार दायर उनीविरुद्धको तेस्रो मुद्दा हो । मुद्दा दायरसँगै बस्नेत मेयर पदबाट यसअघि नै निलम्बित भइसकेका छन् । कांग्रेसबाट उनी दोस्रो कार्यकालका लागि मेयर निर्वाचित भएका थिए । 

गत १४ पुसमा अख्तियारले बस्नेतविरुद्ध घुस रिसवत कसुरमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा अलग–अलग मुद्दा दायर गरेको थियो । त्यसवेला अख्तियारले नौ करोड २२ लाख ४६ हजार भ्रष्टाचार र १३ करोड १२ लाख ७३ हजार सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो । यी मुद्दामा पत्नी उर्मिला र घरजग्गा व्यवसायी राजुप्रसाद कँडेललाई पनि अख्तियारले प्रतिवादी कायम गरेको छ । 

अख्तियारले निर्वाचित हुनुपूर्व बस्नेत र परिवारका सदस्यका नाममा विभिन्न बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाका खातामा रहेको सुरु मौज्दात, पारिश्रमिक/तलब, दैनिक भ्रमणलगायतका भत्ताबापतको रकम, पत्नी उर्मिलाको पारिश्रमिक/तलब तथा विद्यालय भत्ता, छोराको तलब, बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाबाट लिएको कर्जा, घरजग्गा बिक्रीबाट प्राप्त आयलगायतको हिसाब र विश्लेषण गरेको थियो । 

त्यस्तै, बिमा आम्दानी, बैंक तथा वित्तीय संस्था र सहकारीमा रहेको रकमको ब्याज तथा विभिन्न कम्पनीहरूको सेयर बिक्रीबाट प्राप्त आम्दानीसमेतको गणना गरेको छ । आम्दानीतर्फ मेयर बस्नेत र परिवारका सदस्यका नाममा १९ करोड ९५ लाख ७४ हजार ८६२ रुपैयाँ आयआर्जन गरेको भेटिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । 

त्यस्तै, व्ययतर्फ जग्गा खरिद, घर निर्माण तथा मर्मत, अपार्टमेन्ट बुकिङ, विदेश भ्रमण, आफू र परिवारको उपचार खर्च, जग्गा कारोबारको कमिसन भुक्तानी, कम्पनीहरूमा गरेको लगानी, कर्जाको साँवा–ब्याज भुक्तानी तथा शेवा शुल्क, छोराछोरीको विवाहमा भएको खर्च र चन्दा दानलगायतमा उनको खर्च देखिएको छ ।

त्यस्तै, घरमा काम गर्ने सहयोगीको पारिश्रमिक, विभिन्न व्यक्तिलाई दिएको रकम, बिमा शुल्क भुक्तानी, लकर शुल्क, विदेश भ्रमण खर्च, सेयर खरिद, सवारीसाधन खरिद, नवीकरण तथा मर्मत, गरगहना खरिद र बैंक तथा वित्तीय संस्था एवं सहकारीका खाताको मौज्दात रकमसमेतको अख्तियारले विश्लेषण गरेको छ ।

यी सबै शीर्षकमा गरेर उनको खर्च तथा लगानीतर्फ २८ करोड ६५ लाख ६१ हजार ९६७ रुपैयाँ देखिएको छ । स्रोत नखुलेको त्यही रकमलाई बिगो कायम गरेर अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो । दुई वर्षसम्म कैद र बिगोबमोजिम जरिवानाको सजाय हुन र गैरकानुनी तवरले आर्जन गरेको तथा बढे/बढाएको सम्पत्ति जफत गरिपाउन अख्तियारले मागदाबी गरेको छ । 

सुझावित समाचार