त्रिकोणात्मक टी–२० आई सिरिज : चौथो हारसँगै सिरिजबाट बाहिरियो घरेलु टोली नेपाल

बुधबार, २३ माघ, २०८१
डिजिटल संस्करण

नेपाली राष्ट्रिय महिला टोली त्रिकोणात्मक टी–२० आई सिरिज क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । त्रिवि क्रिकेट मैदानमा लगातार चौथो खेलमा हार व्यहोरेपछि घरेलु टोली नेपाल सिरिजबाट बाहिरिएको हो । थाइल्यान्डसँग पराजित भएपछि नेपालको उपाधि जित्ने सम्भावनासमेत समाप्त भएको छ । सिरिजको छैटौँ खेलमा घरेलु टोली नेपाल थाइल्यान्डसँग केवल पाँच रनको अन्तरले पराजित भयो । 

अब, नेदरल्यान्ड्स र थाइल्यान्डबिच शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । थाइल्यान्डले चारै खेलमा शतप्रतिशत नतिजा निकाली आठ अंकका साथ शीर्ष स्थानमाथि कब्जा जमाएको छ । नेदरल्यान्ड्सले समान चार खेलबाट चार अंक जोडेको छ । नेदरल्यान्ड्सले दुवैपटक नेपालमाथि जित निकाल्यो । थाइल्यान्डले सिरिजमा नेदरल्यान्ड्सलाई दुई खेलमा हराएको थियो । नेपालले एक अंक पनि बटुल्न सकेको छैन । 

नेपालले अहिलेसम्म पाहुना टोली नेदरल्यान्ड्स र थाइल्यान्डविरुद्ध समान दुई खेलमा कमजोर ब्याटिङ प्रदर्शन गरिरहेको छ । ट्रिपल राउन्ड रोविनअनुसार चलिरहेको सिरिजमा थाइल्यान्डले अब नेपाल र नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ । थाइल्यान्ड र नेपालबिचको खेलमा समग्रमा बनेको २०७ रन सर्वाधिक हो । यसअघि दुवै टोलीले समग्रमा २०३ रन बनाएका थिए । 

थाइल्यान्डको मध्यम योगफल
पहिलो ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १०६ रनको मध्यम योगफल खडा गरेको थियो । नेपालले थाइल्यान्डले प्रस्तुत गरेको लक्ष्य सहजै पछ्याउन सक्ने अवस्थामा थियो । तर, यसपटक पनि शीर्ष क्रमका चार खेलाडीको फितलो ब्याटिङ प्रदर्शन भएपछि नेपाल जितबाट केवल पाँच रनले चुक्यो । ओपनर सम्झना खड्काले नौ बलमा पाँच रन, दोस्रो ओपनर ममता चौधरीले दुई बलमा शून्य रन, कप्तान इन्दु बर्माले ६ बलमा तीन र र विन्दु रावल शून्य रनमा आउट भएपछि नेपालको कमजोर सुरुवात भयो । नेपालले महत्वपूर्ण चार विकेट गुमाउँदा ४.२ ओभरमा आठ रन मात्र बनाएको थियो । 

त्यसपछि फर्ममा रहेकी यू–१९ टोलीकी कप्तान पूजा महतो र पूर्वकप्तान रुविना क्षेत्रीबिच पाँचौँ विकेटका लागि ४४ रनको साझेदारी भयो । दुवैले नेपाललाई १२.४ ओभरमा ५२–५ को स्थितिमा राखे । रुविनाले ३० बलमा तीन चौका र एक छक्का प्रहार गरी २६ रनको योगदान दिइन् । 

अन्तिम ओभरमा १४ रन आवश्यक
इनिङ्सको १३.३ ओभरमा पूजाको विकेटसँगै नेपालको फिनिसिङमा दबाब देखियो । पूजाले २८ बलमा दुई चौकाको सहयोगमा १८ रन बनाइन् । रोमा थापा र कविता जोशीले सातौँ विकेटका लागि ३६ रनको साझेदारी गर्दै नेपालको जित आशा दिलाएका थिए । कविता इनिङ्सको १८.६ ओभरमा पेभेलियन फर्किइन् । उनले २० बलमा तीन चौका र एक छक्काको सहयोगमा २४ रनको योगदान दिइन् । नेपाललाई अन्तिम ६ बलमा १४ रन आवश्यक थियो । तर, नेपालले ९ रन मात्र बटुल्दा थाइल्यान्डले पाँच रनको बाजी मार्यो । अन्तिमसम्म आउट नभएकी रोमाले १९ बलमा दुई चौकाको मद्दतमा १९ रन बनाइन् । १९औँ ओभरमा नेपाल ९२–७ को स्थितिमा रह्यो । 

नेपाललाई लक्ष्यसम्म पुग्न नदिन थाइल्यान्डकी थिपाच पुथावाङले घातक बलिङ गरेकी थिइन् । उनले ४ ओभरमा एक मेडनसहित १० रन खर्चेर चार विकेट लिइन् । उनले कप्तान इन्दु, सम्झना, पूजा तथा कविताको महत्वपूर्ण विकेट लिएकी थिइन् । ब्याटिङ क्रममा पनि थिपाचले ३१ बलमा २५ रनको योगदान दिएकी थिइन् । खेलमा उनी नै म्यान अफ दी म्याच भइन् । 

टी–२० आईमा रचनाको पहिलो विकेट
थाइल्यान्ड्विरुद्ध नेपालकी रचनाकुमारी चौधरीले पहिलो टी–२० आईमा पहिलो विकेट लिन सफल भएकी छिन् । थाइल्यान्डसँगको डेब्यु खेलमै उनले विकेट हात पारेकी हुन् । बाँयाहाते स्पिनर रचनाले थाइल्यान्डकी फनिता मायालाई विकेटकिपर अलिसाकुमारी यादवबाट क्याचआउट गराइन् । कविता कुँवर चोटका कारण बाहिरिएपछि रचनाले स्थान बनाएकी हुन् । रचनाले यसअघि यू–१९ टोलीबाट महिला टी–२० विश्वकप खेलेकी थिइन् ।

See More On

सुझावित समाचार