छिमेकीको शरणबाट अस्थायी आवासमा सर्न थाले रोशीका बाढीपहिरोपीडित

आइतबार, २० माघ, २०८१
डिजिटल संस्करण

पाँचजना परिवार बस्ने घर असोज दोस्रो साता आएको बाढीले बगाएपछि रोशी गाउँपालिका–२ नारायणटारका उमेश श्रेष्ठ बिचल्लीमा परेका थिए । बस्दै आएको घर बगाएपछि उमेशका परिवार छिमेकीको शरणमा थिए । आफ्नै घरमा बस्ने कहिले हो ठेगान थिएन । घर कहिले बनाउने र कसरी बनाउने भन्ने चिन्ताले चार महिनायता राम्रोसँग निदाउन नसकेको श्रेष्ठको भनाइ छ । केही दिनयता भने उमेशको अनुहारमा हल्का खुसी छाएको छ । उनको अनुहारमा खुसी ल्याउने कारण बनेको छ, अस्थायी घर । 

उनले भने, ‘वृद्ध बुबा र सानी छोरीको चिन्ताले राति निद्रा नै लाग्दैनथ्यो । बाढीले घर बगाएपछि सानी छोरी र वृद्ध बुबासहित पाँचजनाको परिवार बिचल्लीमा थियौँ । रातभर निद्रै लाग्दैनथ्यो । अब भने धेरै राहत महसुस गरेको छु । आफ्नै घरमा बस्न पाएको छु ।’

सोही स्थानकी लक्ष्मी सेन्चुरीलाई पनि अब बाँच्ने आशा पलाएको छ । उनको पनि लगाएको कपडाबाहेक घर बाढीले बगाएको थियो । सर्वस्व बगाएपछि उनी कसरी बाँच्ने र परिवारलाई कसरी बचाउने बन्ने चिन्तामा थिइन् । ‘लगाएको एकसरो कपडाबाहेक सबै बगाएपछि धेरै मन रोएको थियो । बाँच्ने मनसमेत मरेको थियो । अब कोही छैन, केही गरी घर बनाउन सकिँदैन भन्ने पिरले सताएको थियो,’ सेन्चुरीले भनिन्, ‘साँच्चै भन्नुपर्दा हामी अब मरे पनि हुने भन्ने अवस्था थियो । अर्काको घरमा कतिन्जेल बस्ने भन्ने लाग्थ्यो । तर, गाउँपालिकाको संयोजनमा सामाजिक संस्थाहरू आए र हाम्रो घर बन्यो । अब बाँच्ने आशा पलाएको छ ।’

गत १० देखि १२ असोजसम्म परेको अविरल बर्सातपछिको बाढीले रोशी गाउँपालिका– २ नारायणटार क्षतविक्षत भएको थियो । बर्खामा बग्ने खोल्सा बढेर बस्तीमा पसेको थियो । बाढीले केहीको घर बगाउने र भत्काउने गरेको थियो भने केहीको पुरेको थियो । केही घर बाढीले सोहरेर बस्नै नमिल्ने थियो । अहिले उक्त बस्तीमा रोशी गाउँपालिकाको पहलमा सेभ द चिल्ड्रेन र किडाज नेपालको सहयोगमा अस्थायी घर निर्माण भएको छ । अस्थायी आवास निर्माणका लागि पीडित प्रतिपरिवारले ५० हजार पाउने प्राकृतिक प्रकोप व्यवस्थापन प्राधिकरणको मापदण्डअनुसार सोही मूल्यबराबरका अस्थायी आवास निर्माण सामग्री प्रदान गरिएको छ । अस्थायी आवास निर्माणका लागि बाँस, सिमेन्ट, जस्तापाता, किलाकाँटालगायतको सामग्री प्रदान गरिएको हो । 

तीनकोठे घर बनाउनका लागि पुग्ने सामग्री प्राप्त भएको बाढीपीडित सविन सेन्चुरीले बताए । थोरै सामग्री थप गरेर बनाएको उनको भनाइ छ । स्थायी घर बनाउँदासम्म मजाले बस्न मिल्ने उनले बताए । 

बाढीपहिरोले रोशी गाउँपालिका– २ मा ६९ घर पूर्ण क्षति र ३४८ घरधुरीमा आंशिक क्षति भएको थियो । यसमध्ये नारायणटारका ३७ घरपरिवारले अस्थायी आवास पाएको वडाध्यक्ष हस्तमान लामाले बताए । अन्य पीडित परिवारको आवास निर्माण पनि गाउँपालिकाको सहयोगमा भइरहेको वडाध्यक्ष लामाले बताए ।

बाढीपहिरोले रोशीमा ५५० घर पूर्ण क्षति र एक हजार दुई सयभन्दा बढी घर आंशिक क्षति भएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । पीडितलाई राहत र आहतपछि अहिले अस्थायी आवास निर्माणमा लागिपरेको उनको भनाइ छ । गाउँपालिकाको स्रोत प्रशस्त नभएकाले अस्थायी आवास निर्माणका लागि संघसंस्थामा पहल गरिरहेको लामाले बताए । सोही क्रममा नारायणटारमा ३७ परिवारलाई र वडा नं. ९ नार्केमा १५ परिवारका लागि अस्थायी आवास निर्माण गरिरहेको उनले बताए ।
 

सुझावित समाचार