पोखरामा भूमिगत तारबाट बिजुली आपूर्ति

शनिबार, १९ माघ, २०८१
डिजिटल संस्करण
पोखरामा भूमिगत तारबाट बिजुली आपूर्ति

अनुगमन गर्दै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ।

विद्युत् प्राधिकरणले पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति सुरु गरेको छ । पहिलो चरणमा पोखराको कुँडहर १३२/११ केभी सबस्टेसनदेखि पश्चिमतर्फ अमरसिंह चोक, बुद्धचोक हुँदै सेती नदी पुलखण्डसम्मको वितरण लाइन भूमिगत गरी त्यस क्षेत्रका करिब तीन सय ग्राहकलाई विद्युत् आपूर्ति दिइएको हो ।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनासँगको समन्वयमा प्रसारण तथा वितरण प्रणालीलाई भूमिगत गरी त्यहाँस्थित जमिनमाथिका बिजुलीका तार र पोल हटाइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वितरण प्रणाली भूमिगत बनाउने कार्यको अनुगमन गरी काम सम्पन्न भएको क्षेत्रमा क्रमशः विद्युत् आपूर्ति दिन र ओभरहेड संरचना हटाउन निर्देशन पनि दिएका छन् ।

महानगरपालिका, सडक कार्यालयलगायतका निकायसँग समन्वय गरी लेकसाइडको बाँकी काम तत्काल सम्पन्न गर्न पनि घिसिङले निर्देशन दिएका छन् ।

पोखरा वितरण केन्द्रअन्तर्गत पर्ने मुख्य सहर तथा सडकहरूमा रहेका चार सय भोल्ट लाइनलाई भूमिगत गर्ने र उक्त क्षेत्रहरूमा अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको छ । हालसम्म पोखरा क्षेत्रको समग्र निर्माण प्रगति ५४ प्रतिशत रहेको आयोजना प्रमुख आनन्द सुवेदीले जानकारी दिए । लेकसाइडस्थित अधिकतम स्ट्रिट क्षेत्रमा काम सम्पन्न भएकाले अब त्यहाँ पनि छिट्टै भूमिगत प्रणालीमार्फत विद्युत् आपूर्ति दिइने प्रमुख सुवेदीले बताए । 

विद्युतीय तारसँगै अप्टिकल फाइबर बिछ्याउने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवाप्रदायकले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् । हाल भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरी सौन्दर्य बढाउन मद्दत पुग्ने तथा हावाहुरी, पानी, चट्याङ इत्यादिका कारण विद्युत् प्रणालीमा अवरोध नहुने हुँदा भूमिगत वितरण प्रणाली सुरक्षित र भरपर्दो हुने प्राधिकरणले जनाएको छ ।

सुझावित समाचार