नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग गत असार १७ गते भएको सातबुँदे सहमतिमा आफ्नो पार्टी दृढ रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले गत असार १७ गते भएको दुई दलबिचको सातबुँदे सहमति कार्यान्वयनमा कांग्रेस दृढ रहेको बताएका हुन् ।
‘सातबुँदे सहमति कार्यान्वयनको विषयमा नेपाली कांग्रेस दृढ छ,’ सभापति देउवाले भने, ‘सहमति कार्यान्वयन हुनेछ, अन्य सहयोगमा दलको निरन्तर सहयोग रहनेछ भन्ने मैले विश्वास लिएको छु ।’
उनले सरकारलाई दृढ समर्थन रहेको बताउँदै मूल्यांकन गर्न ६ महिना पर्याप्त नहुने बताए । ‘सरकारको मूल्यांकनका लागि ६ महिना मात्रै पर्याप्त होइन,’ उनले भने, ‘यसबिचमा केही राम्रा काम भएका छन् ।’