रास्वपाले संसद् छलेर ल्याएका अध्यादेशविरुद्ध सदनमा अस्वीकार प्रस्ताव राख्ने

बिहिबार, १७ माघ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् छलेर ल्याएका अध्यादेशविरुद्ध सदनमा अस्वीकार प्रस्ताव राख्ने भएको छ । उपनेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बुधबार बसेको संसदीय दलको बैठकले ६ वटै अध्यादेशको अध्ययन गरेर अस्वीकार प्रस्ताव राख्ने निर्णय गरेको सचेतक निशा डाँगीले बताइन् । ‘संसद् छलेर अपारदर्शी रूपमा ल्याइएका ६ वटै अध्यादेशविरुद्ध प्रतिनिधिसभा नियमावली नियम ९५ बमोजिम अस्वीकारको सूचना दर्ता गराउँछौँ,’ उनले भनिन् ।

अस्वीकारको प्रस्तावअगाडि रास्वपाले अध्यादेशको मसिनो अध्ययनका लागि चारवटा समूह बनाएको छ । सचेतक डाँगीका अनुसार सहकारीसम्बन्धी अध्यादेश अध्ययन गर्न सोविता गौतम, सुमना श्रेष्ठ, चन्दा कार्की भण्डारी, अशोक चौधरीले जिम्मेवारी पाएका छन् । 

सुशासनसम्बन्धी अध्यादेशलाई शिशिर खनाल, मनीष झा, असिम शाह, विन्दवासिनी कंसाकार, लक्ष्मी तिवारी र चन्दा कार्की भण्डारीले अध्ययन गर्नेछन् । भूमिसम्बन्धी अध्यादेशको डा. तोसिमा कार्की, निशा डाँगी, अशोक चौधरी, विनिता कठायत र हरि ढकालले अध्ययन गर्नेछन् । आर्थिकसम्बन्धी अध्यादेशलाई डा. स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, हरि ढकाल र गणेश पराजुलीले अध्ययन गर्नेछन् । चारवटै समूहले आफ्नो क्षेत्रको अध्यादेश मसिनो गरी अध्ययन गरेर संसद्मा आवाज उठाइने सचेतक डाँगीले बताइन् । 

बैठकले राजनीतिक प्रतिशोधको आधारमा सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएर सरकारले रास्वपा संसदीय दलका नेता रवि लामिछानेको सांसद पद निलम्बन गर्नु प्रतिनिधिसभा नियमावलीविपरीत भएको ठहर पनि गरेको छ । 

See More On

सुझावित समाचार