सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिममा जन्मेर यहाँको राजनीतिक तथा सामाजिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याएका दुईजनालाई सहिद घोषणा गर्न संघीय सरकारलाई सिफारिस गरेको छ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अछामको ककडशान्ता मोतीपुरका बलदेव शाही (बाकावीर) र कैलालीको साबिक बलिया गाविस– ३ का लोकराज ढकाललाई सहिद घोषणाका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो।
बाकावीरले राणाशासनको दमनविरुद्ध अभियान चलाएका थिए। राणाहरूले जनतामाथि गरेको अत्याचारविरुद्धको लडाइँमा उनी मारिएकाे बताइन्छ।
ढकाललाई तत्कालीन विद्रोही पक्षले ४ माघ ०५५ मा हत्या गरेको थियो। जिल्ला समन्वय समिति अछामले बाकावीरलाई सहिद घोषणा गर्न प्रदेश सरकारसमक्ष माग गरेको थियो । त्यस्तै, ढकाललाई सहिद घोषणा गर्न लम्कीचुहा नगरपालिकाले सिफारिस गरेको थियो ।
दुवैजनाको योगदानको कदर गर्दै सहिद घोषणाका लागि सिफारिस गरिएको मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन्।
जिल्ला समन्वय समितिले गरेको सिफारिसमा राणा शासकको दमनविरुद्ध अभियान चलाएका बाकावीर जंगबहादुर राणाको निरंकुशताविरुद्ध लड्दालड्दै मारिएको उल्लेख छ। त्यस्तै लम्कीचुहा नगरपालिकाले ढकाल द्वन्द्वकालमा मारिएका पहिलो व्यक्ति भएकाले सहिद घोषणा गर्नुपर्ने भनिएको छ। ढकाल तरुण दल कैलालीको सदस्य थिए।