यतिवेला हिमाली जिल्ला जुम्लाको मौसम निकै चिसो छ । धेरै चिसो भए पनि माघ महिनाको दोस्रो सातासम्म हिउँ भने पर्न सकेको छैन । यही चिसो मौसमलाई पर्वाह नगरी देशभरका विद्यार्थी चिकित्सा शिक्षा अध्ययन गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पुगेका छन् ।
प्रतिठानमा नयाँ शैक्षिक सत्र सुरु भएसँगै चिकित्सा शिक्षा अध्ययनका लागि पूर्व–पश्चिमदेखिका विद्यार्थी जुम्ला पुगेका हुन् । बिहीबार सम्पन्न अभिमुखीकरण कार्यक्रममा सहभागी हुँदै दाङका हुमबहादुर डाँगीले भने, ‘छोरी वर्षा डाँगीलाई जुम्लामा बिएस्सी नर्सिङ पढाउनका लागि जुम्ला पुगेको हुँ ।’ उनले छोरीलाई जुम्लामै चिकित्सा शिक्षा पढाउनुपर्छ भनेर आएको बताए ।
जुम्लाका सुरज उपाध्यायले भने, ‘पहिला–पहिला हाम्रो दाजुभाइहश्र पढ्न भनेर जिल्ला छोडेर बाहिर जानुपर्ने बाध्यता थियो । तर, अहिले आफ्नै जिल्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएपछि यही बिपिएच पढ्नुपर्छ भनेर आएको हुँ । आफ्नो घरनजिकै पढ्न पाउनु सुखद पक्ष हो । यसलाई हामीले भरपूर उपयोग गर्नुपर्दछ ।’
रौतहटकी कृति यादव र झापाकी सृष्टि थापामगर एमबिबीएस पढ्न जुम्ला आउँदा निकै उत्साहित देखिन्थे । काठमाडौं वा पोखराको कोलाहलपूर्ण वातावरणभन्दा जुम्ला पढ्नका लागि निकै उत्कृष्ट वातावरण रहेको उनीहरू बताउँछन् । त्यस्तै, नवलपरासीका सागर विश्वकर्मा पनि देशको सेवा गर्ने दृढ इच्छासहित यहाँ पढ्न आएका छन् । उनले भने, ‘म प्रतिष्ठानबाट डाक्टर बनेर विकट ठाउँमा सेवा गर्न चाहन्छु । यहाँको वातावरणले मलाई आत्मविश्वास दिएको छ ।’
लमजुङकी कोसिका रानाभाट पनि बिएस्सी नर्सिङ पढ्न आएकोमा खुसी देखिइन् । पोखराकी झरना गुरुङले भनिन्, ‘पोखराजस्तो सुन्दर सहरबाट जुम्ला आउँदा कुनै न्यास्रो लागेन । यहाँको प्रकृति र साथीहरूको साथले मलाई नयाँ ऊर्जा दिने विश्वास छ ।’
विद्यार्थीको उज्ज्वल भविष्यका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले खेलिरहेको भूमिकाबारे प्राध्यापक क्षितिज उपाध्यायले भने, ‘यहाँको एकजना शिक्षकले चारजना विद्यार्थीलाई दैनिक हेर्न सक्ने वातावरण छ । पढाइ तपाईंहरूले सोचेअनुसारको हुनेछ ।’ उनको यो भनाइले प्रतिष्ठानको शैक्षिक गुणस्तर र विद्यार्थीप्रतिको समर्पणलाई स्पष्ट पार्थ्याे ।
प्रतिष्ठानले पछिल्लो समय पठनपाठनमा देशमै उत्कृष्टता हासिल गरिरहेको प्रतिष्ठानका रेक्टर डबलबहादुर धामीले बताए । उनले भने, ‘विकटतामा रहेको यो संस्थान अहिले देशभरका विद्यार्थीको रोजाइको कुन्द्रविन्दु बनेको छ ।’ बिहीबार भएको अभिमुखीकरण कार्यक्रममा एमबिबिएस पढ्ने ४३ जना, बिपिएचका १५ जना, बी फार्मका १४ जना, बिएचसी नर्सिङका १७ जना र बिएनएसका १५ जनाले सहभागिता जनाएको स्कुल अफ पब्लिक हेल्थ बिपिएच चौथो वर्षका संयोजक उपप्राध्यापक ओमप्रकाश काफ्लेले बताए ।