विपिन जोशी रिहाइमा परराष्ट्रको सक्रियता

इजरायली विदेशमन्त्री र कतारी राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको फोनवार्ता, सकारात्मक आश्वासन

बुधबार, २ माघ, २०८१
डिजिटल संस्करण

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि मंगलबार इजरायलका विदेशमन्त्री गिडियन सार र कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अलखुलाइफीसँग बेग्लाबेग्लै फोनवार्ता गरेकी छिन् । हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई मुक्त गर्न लागेको समाचार आएपछि परराष्ट्रमन्त्री राणाले विपिनको रिहाइका लागि पहल गरिदिन कूटनीतिक सक्रियता बढाएकी हुन् । 

विदेशमन्त्री सारमार्फत इजरायल सरकारसँग गरेको नेपालको आग्रहलाई इजरायलले सकारात्मक जवाफ दिएको छ । ‘फोनवार्तामा परराष्ट्रमन्त्री राणाले इजरायल सरकारले सबै बन्दीका पक्षमा निर्वाह गरिरहेको भूमिकाका लागि धन्यवाद दिँदै नेपाली युवा विपिनलाई हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्नका लागि विशेष आग्रह गर्नुभएको छ,’ परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले भने । विदेशमन्त्री सारले विपिनको सकुशल रिहाइका लागि इजरायल सरकारले अधिकतम प्रयास गरिरहेको जानकारी दिएका थिए । उनले परराष्ट्रमन्त्री राणाले कतारका विदेश राज्यमन्त्रीसँग कुराकानी गरेकोमा खुसी व्यक्त गरेको पाठकले जानकारी दिए । कतारका विदेश राज्यमन्त्री हमाससँगको शान्तिवार्ताका प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता भएकाले उनको भूमिका महŒवपूर्ण रहेको इजरायली विदेशमन्त्रीको भनाइ थियो ।

परराष्ट्रमन्त्री राणाले कतारका विदेश राज्यमन्त्री खुलाइफीसँग फोनवार्तामार्फत विपिनको रिहाइका लागि पहल गर्न गरेको आग्रहमा सकारात्मक जवाफ पाएकी थिइन् । खुलाइफी कतार सरकारका तर्फबाट इजरायल–हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् । राणाले राज्यमन्त्री खुलाइफीसँग हमासको  नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको सन्दर्भमा नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ पहिलो चरणमै गर्न विशेष पहलका लागि आग्रह गरेकी छिन् ।

‘हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरणमुक्त गर्न लागेको भन्ने समाचार आएपछि हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरूलाई विपिनको रिहाइका लागि थप पहल गरिदिन अपिल गर्ने काम गरिरहेकी छु,’ परराष्ट्रमन्त्री राणाले फेसबुकमा लेखेकी छिन्, ‘यसैअन्तर्गत कतारका मन्त्री खुलाइफीसँगको फोनवार्तामा पनि विपिनको रिहाइका लागि विशेष पहल गरिदिन थप आग्रह गरेँ । उहाँले हमास समूहलाई युद्धविराममा ल्याई बन्दीहरूलाई मुक्त गराउन कतार सरकारले पहल गरिरहेको जानकारी गराउँदै यस विषयमा छिट्टै नै सकारात्मक खबर आउने बताउनुभयो । यसबाट थप आशावादी भएका छौँ ।’

कतार नेपालको सदैव हितैषी मित्रराष्ट्र रहेको प्रसंग उल्लेख गर्दै राणाले कतारले हमाससँगको सम्पर्कमा रहेर शान्तिवार्ताका लागि युद्धविराम गराउन गरेको प्रयासको प्रशंसा गरिन् । राज्यमन्त्रीले हमास समूहको अपहरणमा रहेकाहरूको मुक्तिका लागि कतार सरकारले पहल गरिरहेको र विपिनको रिहाइलाई प्राथमिकतामा राखेको जवाफ दिएका छन् । ‘खुलाइफीले नेपाली युवा विपिनको रिहाइलाई अपिल गर्ने कुरा पनि आफूहरूले प्राथमिकतामा राखेको भन्नुभएको छ । पहिलो चरणमा उनीहरूले केही बन्दी रिहा गर्ने सूचना दिएका छन् । सकेसम्म पहिलो चरणमै र त्यो सम्भव नभएमा बाँकीको रिहाइका क्रममा विपिन अपहरणमुक्त हुनेमा आफू विश्वस्त रहेको उहाँले जानकारी दिनुभएको छ,’ परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार पाठकले भने ।

परराष्ट्रमन्त्री राणाले इजिप्ट सरकारलाई पनि विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह गरिसकेकी छिन् । इजरायल र हमासबिच युद्धविरामका लागि इजिप्ट सरकार पनि हमासको सम्पर्कमा रहेर प्रयास गरिरहेको छ । गत साता परराष्ट्रमन्त्री राणाले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग विपिनको रिहाइका लागि प्रयास गरिदिन अनुरोध गरेकी थिइन् ।

सुझावित समाचार