सन् २०२६ को एसियाड : वैदेशिक प्रशिक्षण वा विदेशी प्रशिक्षकबाट तयारी गराउन निर्देशन

सोमबार, १५ पुष, २०८१
डिजिटल संस्करण

सन् २०२६ मा जापानमा हुने एसियन खेलकुद प्रतियोगिता (एसियाड)को प्रशिक्षणमा रहेका खेलाडीलाई विदेशी प्रशिक्षक आवश्यक रहेको वा वैदेशिक प्रशिक्षणमा पठाउन सम्बन्धित संघलाई खाका प्रस्तुत गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निर्देशन दिएको छ । मिसन २०२६ को विशेष प्रशिक्षणमा रहेका खेलाडीको एन्टी डोपिङ र खेल पोषण कक्षाको समापनमा सदस्यसचिव टंकलाल घिसिङले विदेशी प्रशिक्षक झिकाउने वा खेलाडीलाई विदेशमा पठाउने विषयमा टुंगो लगाउन राष्ट्रिय खेल संघलाई निर्देशन दिएका हुन् ।

‘संघहरूले छिट्टै आफ्नो खाका लिएर आउने विश्वास लिएको छु,’ घिसिङले भने, ‘अहिलेको प्रशिक्षणले मात्र नपुग्ने भएकाले विश्वस्तरीय खेलाडी र टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिनुपर्छ ।’ उनले सातदोबाटोमा खेलाडीका लागि फिटनेस सेन्टर निर्माण कार्य चाँडै सकिने जानकारी दिए । स्पोर्टस् साइन्स ल्याबलाई आवश्यक पर्ने सामग्री खरिदको प्रक्रिया पनि सुरु भइसकेको घिसिङको भनाइ छ । खेलाडीको पुरस्कारको व्यवस्था कानुनमै उल्लेख भएको हुँदा खेलाडीलाई ढुक्क भएर खेल्न आग्रह उनले गरेका छन् ।

‘१९औँ एसियाड सम्पन्न भएपछि हामीले २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित मिसन २०२६ अन्तर्गत विशेष तयारी प्रशिक्षण गत आर्थिक वर्षबाट सुरु ग¥यौँ, अब यो तीन वर्षसम्म चल्नेछ,’ सदस्यसचिव घिसिङले भने, ‘प्रशिक्षणमा सहभागी हुने खेलाडीमध्येबाट राखेपको लक्ष्य हासिल गर्ने विश्वास छ ।’

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले आफूले ओलम्पिकमा जित्न नसकेको पदक, एसियाली खेलकुदमा जित्न नसकेको स्वर्ण अहिलेका खेलाडीले जिते आफूले जितेसरह हुने बताए । प्रशिक्षकबाट भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टले ट्रेनिङका दौरान हुने विभिन्न कक्षाले ऊर्जा थप्नुका साथै मनोबल पनि बढाएको बताए । हाङझाव एसियाडको कराँतेमा ऐतिहासिक रजत जितेकी एरिका गुरुङले तयारी राम्रो भइरहेको बताइन् । ‘अहिलेको प्रशिक्षबाट सुखद नतिजा प्राप्त हुने आशा लिएकी छु,’ 
एरिकाले भनिन् ।

प्रशिक्षणमा ८५ खेलाडीसँगै १९ प्रशिक्षक
१ मंसिरदेखि सुरु भएको विशेष प्रशिक्षणमा कराँते, बक्सिङ, उसु, एथलेटिक्स, जुडो, कुस्ती, पुरुष÷महिला कबड्डी, महिला भलिबल र गल्फका ८५ खेलाडी र १९ प्रशिक्षक समावेश छन् । गत आर्थिक वर्षदेखि पदकको बढी सम्भावना भएका विभिन्न खेलका खेलाडीलाई समावेश गरी विशेष तयारी प्रशिक्षण सुरु गरिएको थियो ।

एसियाली खेलकुद सकेलगत्तै आगामी संस्करणको तयारी थालिएको पहिलोपटक हो । एसियाली खेलकुदको कुनै पनि संस्करणमा नेपालले हालसम्म दोहोरो अंकमा जितेको छैन । एसियाली खेलकुदमा नेपाल स्वर्णविहीन पनि छ । सन् १९८६ मा दक्षिण कोरियाको सिओलमा भएको एसियाली खेलकुदमा नेपालले बक्सिङ र तेक्वान्दोमा समान चार गरी आठ कांस्य पदक जितेको थियो । सिओल एसियाड नै नेपालले हालसम्म एसियाली खेलकुदमा जितेको सर्वाधिक पदक हो ।

See More On

सुझावित समाचार