धादिङको नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दीपक विश्वकर्मा भारतको नयाँ दिल्लीमा अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कारबाट सम्मानित भएका छन्।
अन्तर्राष्ट्रिय दलित सम्मेलनबिच बाबु जगजीवनराम कला तथा साहित्य एकेडेमीले उपप्रमुख विश्वकर्मालाई ‘अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कार’ प्रदान गरेको हो। कार्यक्रममा भाग लिन नेपालबाट विभिन्न क्षेत्रका काम गर्ने दलित अधिकारकर्मी, बुद्धिजीवी र समाजसेवीहरू पुगेका थिए।
दलित समुुदायको हक अधिकारका लागि पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उपमेयर विश्वकर्मालाई सो पुरस्कार प्रदान गरिएको हो। विश्वकर्मा २०७९ सालको स्थानीय तह निर्वाचनबाट नीलकण्ठ नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका थिए। शान्त, शालिन र समाज परिवर्तनको हुटहुटी बोकेका उनले नगरपालिकामा उल्लेखनीय काम गर्दै आएका छन्। दलित हक अधिकारदेखि सामाजिक रूपान्तरणमा उनी विश्वासिलो पात्र बनेका छन्।
निर्वाचित भएपछि नगरपालिकाभित्र निःशुल्क शिक्षाको कार्यान्वयन, दलित र विपन्नलाई छात्रवृत्तिको व्यवस्था, विकास निर्माणको प्रभावकारितालगायतका क्षेत्रमा गरेको कामले यो पुरस्कार दिलाएको नगर उपप्रमुख विश्वकर्मा बताउँछन्। ‘पालिकाभित्रका दलित विद्यार्थीहरूलाई एमबिबिएस पढ्न कम्तीमा १ लाखलगायत अन्य विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमहरू पनि चलिरहेको छ। निःशुल्क तथा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छौँ। चुनावी मैदानमा जाँदा गरेका प्रतिबद्धताहरू पूरा गर्दै आएका छौँ,’ उनले भने, ‘समृद्ध नगर बनाउन सबैको साथले सम्भव बनेको हो। यो पुरस्कार सिंगो नगरपालिकाको हो। यसले नीलकण्ठ नगरपालिकाको पहिचान स्थापितसँगै आगामी दिनमा अझै राम्रा कामका लागि हौसल र चुनौती थपिएको छ।’
आयोजक एकेडेमीका संरक्षक तथा भारतको लोकसभाकी पूर्वअध्यक्ष मेइरा कुमारले पुरस्कार प्रदान गरेकी थिइन्। मेइरा जगजीवनरामकी छोरी हुन्। जगजीवनराम तत्कालीन स्वतन्त्र भारत संघर्षको नेतृत्वकर्तामध्येका एक हुन्। संविधान निर्माणपछि त्यसले व्यवस्था गरेको दलितको हक अधिकार कार्यान्वयनका लागि उनको महत्त्वपूर्ण योगदान थियो।
उनकै सम्झनामा भारतको संविधान निर्माता डाक्टर भीमराव अम्बेडकरको नाममा एकेडेमीले पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ।