सिमेन्टको भाउ घटाउने सहमति

बिहिबार, २७ मंसिर, २०८१
डिजिटल संस्करण

कृत्रिम रूपमा बढाइएको सिमेन्टको भाउ घटाइने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको पहलमा बुधबार सिमेन्ट उद्योगी र निर्माण व्यवसायीसहित भएको छलफलमा काठमाडौंमा सिमेन्टको भाउ ओपिसीको सात सय र पिपिसी ६ सय रुपैयाँ प्रतिबोरा कायम गर्ने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए । उनले भने, ‘अब सहमति कार्यान्वयन गर्ने आसमा छौँ’ उनले भने ।

रवि सिंह, अध्यक्ष, निर्माण व्यवसायी महासंघ 
असारमा मूल्य निर्धारण गर्दा ४८० रुपैयाँ हुने र अहिले ७८० रुपैयाँ पुर्‍याउने निर्णय गर्दा कन्स्ट्रक्सन क्षेत्र समस्यामा पर्‍यो । यसो गर्दा निर्माण क्षेत्रको काम नहुने र अर्थतन्त्रलाई समेत असर पर्ने काम भयो भने सिमेन्टको खपत पनि घट्योे । 

उद्योगीहरूले पछिल्लो डेढ महिनामा प्रतिबोरा सिमेन्टको भाउ एक सय ८० रुपैयाँसम्म वृद्धि गरेका थिए । तर, उद्योग मन्त्रालयसँगको छलफलपछि प्रतिबोरा ८० रुपैयाँसम्म घटाउने सहमति भएको हो । उक्त सहमतिलाई निर्माण क्षेत्रले समेत स्वागत गरेको अध्यक्ष सिंहले बताए । ‘सिमेन्टको भाउ घटाउने सहमतिको हामी स्वागत गर्न चाहन्छौँ’ उनले भने ।

अब सिमेन्ट उद्योगीले फ्याक्ट्री मूल्य प्रतिबोरा पाँच सय ४० रुपैयाँ निर्धारण गर्नेछन् । यसअघि ६ सय ८० रुपैयाँ प्रतिबोरासम्म पुगेको थियो । कार्टेलिङ गरेर केही उद्योगीले सिमेन्टको भाउ बढाउँदा निर्माण क्षेत्रको लागत बढेको भन्दै व्यवसायीले विरोध गरेका थिए । कतिपय स्थानमा ‘निर्माण होलिडे’ समेत गरेका थिए ।

प्रत्येक वर्षको साउनमा जिल्ला प्रशासन कार्यालयहरूले जिल्ला दररेट सार्वजनिक गर्ने गर्छन् । सोही जिल्ला दररेटको भाउअनुसार निर्माण व्यवसायीले विभिन्न ठेक्कामा टेन्डर आह्वान गर्ने प्रचलन छ । गत साउनमा सिमेन्टको बजार भाउ चार सय ८० रुपैयाँ प्रतिबोरा रहेको अध्यक्ष सिंहले बताए । 

‘त्यतिवेला प्रतिबोरा चार सय ८० रुपैयाँ रहेको भाउकै आधारमा विभिन्न ठेक्का सम्झौता भएको छ, तर अहिले विनाकारण प्रतिबोरा तीन सय रुपैयाँसम्म वृद्धि गर्नु सुहाउँदो भएन भनेर हामीले विरोध गरेका थियौँ’ उनले भने, ‘त्यसपछि सरकारी निकायको रोहवरमा सहमति जुटेको छ ।’

उद्योगीले सिमेन्टको भाउ बढाएको भन्दै निर्माण व्यवसायीले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पनि उजुरी दिएका थिए । त्यसपछि विभागले मूल्य नघटाए कारबाही गर्ने चेतावनी दिएका थियौँ । विभागकै समन्वयमा उद्योग मन्त्रालयमा बुधबार दिउँसो दुवै पक्षबिच छलफल भएको थियो । सिमेन्ट उद्योगीले अत्यधिक रूपमा सिमेन्टको मूल्यवृद्धि गरेका थिए । त्यस विषयमा छलफलपछि काठमाडौंमा ओपिसी सिमेन्ट सात सय र पिपिसी ६ सय रुपैयाँमा उपलब्ध गराउने सहमति भएको छ । अब यो सहमति कार्यान्वयन होस् भन्ने चाहन्छौँ ।

See More On

सुझावित समाचार