पुथाउत्तरगंगामा ५३ प्रतिशत मत खस्यो, मतपेटिका पालिका केन्द्र लैजान ७ घन्टा बढी लाग्ने

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ५३ प्रतिशत मत खसेको छ। कुल ११ हजार १८० मतदातामध्ये पाँच हजार ९३१ जना मतदानमा सहभागी भएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

गत भदौ २८ गते बागलुङमा जिप दुर्घटना हुँदा पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नं वडाध्यक्ष जसबहादुर शेर्पालीको मृत्यु भएपछि उक्त दुई पद रिक्त छ। गाउँपालिकाको १४ वटा वडामा रहेका २२ मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान कार्य सम्पन्न भएको सहायक निर्वाचन अधिकृत ईश्वरी सुवेदीले जानकारी दिइन्। 

गाउँपालिका उपाध्यक्षमा कांग्रेस–एमालेकी केशकुमारी तुलाचन र माओवादी केन्द्रकी नरपुरा बुढा पुनबिच प्रतिस्पर्धा भएको छ।

मतदानस्थलहरूबाट मतपेटिका गणनास्थल पालिकाको केन्द्र पुथाउत्तरगंगा–१० तकसेरामा ल्याउने क्रम सुरु भैसकेको छ। निर्वाचन कार्यालयले सोमबार बिहानसम्म सबै मतपेटिका ल्याइसक्ने र त्यसपछि सर्वदलीय बैठक गरेर मतगणना सुरु गर्ने तयारी भएको जनाएको छ। पुथाउत्तरगंगाका कतिपय मतदानस्थलबाट पालिका केन्द्रसम्म मतपेटिका ल्याउन सात घन्टाभन्दा बढी समय लाग्ने अवस्था छ।

सुझावित समाचार