‘कांग्रेस–एमालेबिच बिआरआईमा समझदारी’

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा सत्तारूढ दल कांग्रेस र एमालेबिच चीनद्वारा प्रस्तावित ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)’ कार्यान्वयन योजनामा सहमति जुटेको छ । शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको दुईदलीय कार्यदलको बैठकले बिआरआईमा सहमति जुटाएको हो । यसैका आधारमा प्रधानमन्त्री ओलीले चीन भ्रमणका बेला बिआरआईबारे नेपालको प्रस्ताव राख्नेछन् । 

गृहमन्त्री तथा कार्यदल सदस्य रमेश लेखकका अनुसार अनुदानका लागि तयार हुने लगायतका सबै असमझदारीका विषयमा सहमति जुटेको हो । उनका अनुसार नेपालले यसअघि हस्ताक्षर गरेको बिआरआईको फ्रेमवर्कको मर्मलाई समेटेर नेपालका तर्फबाट गरिने प्रस्तावको मस्यौदा तयार गरिएको छ ।

‘प्रधानमन्त्रीको भ्रमणअघि बिआरआईसम्बन्धी डकुमेन्टका विषयमा दुई दलबिच छलफल भयो । अनुदान मात्र लिने भन्ने बिषयमा दुई दलबिच पहिलादेखि नै समझदारी थियो । त्यस बाहेकका मिल्न बाँकी सबै बिषय मिलेका छन् । प्रधानमन्त्रीले मित्रराष्ट्र चीन समक्ष प्रस्तुत गर्ने बिआरआईको फ्रेमवर्क हामीले तयार गरेका छौँ । बिआरआईको फ्रेमवर्कमा नेपालले हस्ताक्षर गरेको स्प्रिटमा ड्राफ्टिङ भएको छ,’ उनले भने । लेखकले समझदारी भएका अन्य विषय भने खुलाएनन् । बालुवाटार बैठकमा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित कार्यदल सदस्यहरू सहभागी भएका थिए । बैठकमा कांग्रेस महामन्त्री गगन थापाले यस विषयमा ब्रिफिङ गरेका थिए । 

चीन भ्रमणबारे राष्ट्रपतिलाई जानकारी
प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई आसन्न चीन भ्रमणबारे जानकारी गराएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा शनिबार साँझ भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

यसक्रममा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले बताए । प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री आरजÞु देउवा पनि सो भेटवार्तामा सहभागिता थिइन् । भेटबारे परराष्ट्रमन्त्री देउवाले आफूले गरेको चीन भ्रमणबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएकी थिइन् । प्रधानमन्त्री ओली १७ देखि २० मंसिरमा चीन भ्रमणमा जाँदै छन् । 

सुझावित समाचार