फरार अभियुक्त प्रहरीकै इन्स्पेक्टर भएको खुलेपछि...

बुधबार, १२ मंसिर, २०८१
डिजिटल संस्करण
फरार अभियुक्त प्रहरीकै इन्स्पेक्टर भएको खुलेपछि...

आपराधिक विश्वासघात मुद्दामा निलम्बित इन्सपेक्टर धर्मेन्द्र अकौलिया

महिनौँदेखि प्रहरीको फरार सूचीमा रहेका एक अभियुक्त प्रहरीकै इन्स्पेक्टर भएको खुलेको छ । आपराधिक विश्वासघातसम्बन्धी कसुरमा फरार रहेका धर्मेन्द्र अकौलिया कानुन कार्यान्वयन गर्ने जिम्मेवारीमै थिए । जिल्ला अदालत काठमाडौंबाट गत साउनमै पक्राउ पुर्जी जारी प्रहरी वृत्त स्वयम्भूमा उनी प्रहरी निरीक्षकका रूपमा कार्यरत थिए । 

हाल उनी कार्यरत रहेको स्वयम्भू वृत्तले गत ३ साउनमा उनीविरुद्ध आपराधिक विश्वासघात मुद्दा चलाएको थियो । कानुनी रूपमा फरार रहेका उनी आफैँ अन्य फरारको खोजी गर्ने र शान्ति सुरक्षा गर्ने जिम्मेवारीमा थिए । वास्तविकता खुलेपछि उनी निलम्बनमा परेका छन् । गत साता जिल्ला प्रहरी परिसर, काठमाडौंले फरार अभियुक्तहरूको खोजी गर्ने फरार व्यक्तिको नाममा आफ्नै इन्स्पेक्टरसम्म मिल्दो नाम देख्यो । त्यति मात्र होइन, ठेगानासमेत मिलेपछि थप बुझ्दा फरार रहेका व्यक्ति प्रहरी इन्स्पेक्टरकै रूपमा कार्यरत रहेको पुष्टि भएको थियो । त्यसपछि प्रहरी वृत्त स्वयम्भूका डिएसपी उद्धवसिंह भाटले अकौलियालाई अदालतमा बुझाएका हुन् ।

गत ५ मंसिरमा इन्स्पेक्टर अकौलियालाई जिल्ला अदालत, काठमाडौंका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । फौजदारी मुद्दा लागेपछि प्रहरी कर्मचारी स्वतः निलम्बनमा पर्ने व्यवस्था छ । इन्स्पेक्टर अकौलिया सीतापाइलास्थित मारुती बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति सदस्य थिए । सो सहकारीका अध्यक्ष वसन्त भेटवाल हुन् । अध्यक्ष भेटवालविरुद्ध ०८० भदौमा नृपेश श्रेष्ठले प्रहरीमा जाहेरी दर्ता गरेका थिए । सहकारीले कारोबारमा विश्वासघात गरेको भन्दै जाहेरी दिएकोमा गत साउनमा स्वयम्भू वृत्तले अनुसन्धान पूरा गरी सरकारी वकिलमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । प्रहरीले अध्यक्ष भेटवालसहित सहकारीका सातैजनालाई सञ्चालकलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । जसमा प्रतिवादी बनेका अकौलिया आफ्नै इन्स्पेक्टर भन्ने थाहा थिएन । त्यतिवेला उनी काभ्रेमा कार्यरत थिए ।

गत २७ भदौमा सरुवा भएर उनी आफूविरुद्ध अनुसन्धान गरेको स्वयम्भू वृत्तमै पुगे । तैपनि आफूविरुद्धको मुद्दा उनले गोप्य नै राखे । मुद्दा चलेको संगठनले थाहा पाए निलम्बनमा पर्न सक्ने भएकाले उनले गोप्य राखेका थिए । हाल वास्तविकता खुलेपछि उनी निलम्बनमा परेका छन् । प्रहरी स्रोतका अनुसार सहकारीका अध्यक्ष भेटवाल उनका निकटस्थ व्यक्ति हुन् । 

सुझावित समाचार