रवि लामिछानेलाई आज पाेखराबाट काठमाडौं लगिने

मंगलबार, ११ मंसिर, २०८१
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज काठमाडौं लगिने भएको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगी ठगी गरेको प्रकरणको बयान र अनुसन्धानका लागि प्रहरीले लामिछानेलाई हवाईमार्ग हुँदै काठमाडौं लैजान लागेको हो ।

काठमाडौंमा बयान र अनुसन्धान सकेर लामिछानेलाई पुनः पोखरा ल्याइनेछ ।यसअघि २ मंसिरमा सो सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले लामिछानेसँगै अन्यका विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । 

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम ठगी प्रकरणमा २ कात्तिकमा काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी लामिछानेलाई पोखरा ल्याइएको थियो ।  त्यसपछि उनी हालसम्म कास्की प्रहरीको हिरासतमा छन् ।

पोखरा ल्याएसँगै उनलाई ४ गते पहिलोपटक ६ दिन, दोस्रोपटक ८ कात्तिकमा सात दिन, तेस्रोपटक तिहार बिदासमेत जोडेर २० कात्तिकमा १० दिन, चौथोपटक २५ कात्तिकमा १३ दिन र पाँचौँपटक गत आइतबार ९ मंसिरमा १५ दिन म्याद थप गरिएको छ । लामिछानेलाई प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

लामिछानेलाई यसअघि प्रहरीले रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडियामा लगेर खर्च भएको सम्बन्धमा बयानसँगै अनुसन्धानका लागि २७ कात्तिकमा रुपन्देही लगेर ३० कात्तिकमा पोखरा ल्याएको थियो ।

सोही सहकारी ठगीसँग जोडिएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशीलाई काठमाडौं लगेर बयान लिएर पोखरा ल्याइसकिएको छ।

सुझावित समाचार