कर तिरेको नक्कली पत्रका आधारमा बैंकबाट दुई अर्ब ३० करोड ऋण

बिहिबार, ६ मंसिर, २०८१
डिजिटल संस्करण

सहकारी ठगीको आरोपमा थुनामा रहेका देउराली सहकारीका सञ्चालक रवीन्द्र चौलागाईंले बैंकबाट ऋण लिँदासमेत नक्कली कागजपत्र पेस गरी झुक्याएका छन् । कर कार्यालयकै किर्ते पत्र बनाई उनले बैंकमा पेस गरेर सवा दुई अर्ब कर्जा लिएका हुन् । 

चौलागाईंसहित चारजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले लिखतसम्बन्धी कसुरमा मुद्दा चलाएको छ । उनीहरूले पूजा मार्केटिङ प्रालि, पूजा ट्रेडिङ एन्ड मार्केटिङ प्रालि र थ्री ब्रदर्स मार्केटिङ प्रालिका नाममा कर चुक्ताको नक्कली पत्र बनाएका थिए । तीनै पत्र तत्कालीन सेञ्चुरी बैंकमा पेस गरी दुई अर्ब ३० करोड ८१ लाख रुपैयाँ कर्जा लिएको भेटिएको छ । 

सिआइबीले चौलागाईंसहित उनकी श्रीमती पूजा खत्री तथा राजेन्द्र खत्री र मनोज भण्डारीविरुद्ध गत ३० कात्तिकमा जिल्ला अदालत, ललितपुरमा सरकारी वकिलमार्फत मुद्दा दायर गरेको हो । रवीन्द्र र राजेन्द्र देउराली सहकारीको ठगीको मुद्दामा यसअघि नै पुर्पक्षका लागि कारागारमा छन् । पूजा र मनोज भने फरार छन् । पक्राउ परेका रवीन्द्र र राजेन्द्रले कम्पनीको लेखापाल रहेका मनोजले नै ती पत्र बनाएको दाबी गरेका छन् । 

कर्जा लिँदा कर चुक्तासम्बन्धी विवरणको नक्कली पत्र बनाएर बैंकमा पेस गरिएको खुलेपछि उनीहरूविरुद्ध लिखत किर्ते मुद्दा दायर भएको सिआइबीका एसपी होविन्द्र बोगटीले बताए । ‘उनीहरूविरुद्ध पहिले नै सहकारी ठगी मुद्दा दायर भइसकेको छ,’ उनले भने, ‘बैंकमा पेस गरिएको कतिपय कागजपत्र किर्ते देखिएपछि त्यसमा छुट्टै मुद्दा चलाएका हौँ ।’ 

उनीहरूले आन्तरिक राजस्व कार्यालय, ललितपुरबाट आठवटा कर चुक्तासम्बन्धी नक्कली पत्र बनाएका थिए । ०७६, ०७७ र ०७८ मा यस्ता पत्र तयार गरिएको सिआइबीले जनाएको छ । चौलागाईंले सहकारीको रकम अनधिकृत घरमा घरजग्गामा लगानी गरेका थिए । तिनै जग्गा सेञ्चुरी बैंकमा धितो राखेर थप कर्जा लिएका थिए । तर, घरजग्गा कारोबार खस्किएपछि सो कर्जा तिर्न सकेका छैनन् । जसकारण सहकारीसमेत डुबेको थियो । सो सहकारीमा सर्वसाधारणको दुई अर्ब २० करोड रुपैयाँ डुबेको छ । चौलागाईंका नाममा रहेका जग्गा पनि बैंकको धितोमा रहेकाले सर्वसाधारणले बचत फिर्ता पाउन कठिन भएको छ ।

See More On

सुझावित समाचार