रास्वपाले उपनिर्वाचनलाई आन्दोलनकै रूपमा उपयोग गर्ने

बिहिबार, ६ मंसिर, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न स्थानीय तहको उपनिर्वाचनलाई आन्दोलनकै रूपमा प्रयोग गर्ने भएको छ । पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध भन्दै उपनिर्वाचनलाई आन्दोलनका रूपमा उपयोग गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । 

रास्वपाले भ्रष्टाचारमा डुबेको सरकार र सभापति लामिछानेमाथि गरिएको प्रतिशोधविरुद्ध ८ मंसिरबाट दोस्रो चरणको आन्दोलन थाल्दै छ । ‘पार्टीले दोस्रो चरणको आन्दोलनको तात्कालिक स्वरूप स्थानीय निर्वाचनसँग सम्बन्धित अभियानका माध्यमबाट अगाडि बढाउने निर्णय गरेको छ,’ झाले भने । उनका अनुसार २४ कात्तिकको केन्द्रीय समितिको निर्णयबमोजिम पार्टी आसन्न उपनिर्वाचनका सन्दर्भमा स्थानीय जनजीविकाका समस्या, राजनीतिक प्रतिशोध र सहकारी, लघुवित्त, मिटरब्याजपीडित, भ्रष्टाचारका काण्डहरूको छानबिन, अर्थतन्त्र र युवा बेरोजगारी, प्रवास, संविधान संशोधनलगायत राष्ट्रिय मुद्दाको स्थानीयकरणमा केन्द्रित हुनेछ ।

रास्वपाले सहकारीको बचत फिर्ताको माग राखी सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले बुधबार राजधानीमा गरेको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीद्वारा भएको दमनको भत्र्सना पनि गरेको छ । ‘आमनागरिकले पाइपाइ गरेर जम्मा गरेको बचत रकम फिर्ताको विशुद्ध उद्देश्यले आफ्ना आवाज बुलन्द गर्ने नागरिकको नैसर्गिक अधिकार हो,’ कावा प्रवक्ता झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पीडित सर्वसाधारण नागरिकका हक प्राप्तिमा प्रभावकारी कदम चल्नुको सट्टा उठेको आवाज दबाउने कार्य सरकारको अधिनायकवादी कदम हो । यसले सरकार नागरिकका समस्याप्रतिको असंवेदनशीलता प्रदर्शन गरेको छ ।’ रास्वपाले प्रधानमन्त्री केपी ओलीसँग जोडिएको विवादास्पद कम्बोडिया प्रकरणको विषय र त्यसमा केही व्यक्तिसमेत पक्राउ भएको सन्दर्भमा सत्यतथ्य छानबिन गरी वास्तविकता प्रकाशमा ल्याउन पनि सरकारसँग माग गरेको छ । 

See More On

सुझावित समाचार