मितेरी सहकारी ठगी प्रकरण : कांग्रेस उपसभापति गुरुङसँग सिआइबीको पाँच घण्टा बयान

बिहिबार, २९ कार्तिक, २०८१
डिजिटल संस्करण
  • सम्बन्ध विच्छेदपछि पनि सहकारीबाट ऋण लिँदा ‘हकवाला’ मा र चुनावमा उम्मेदवार बन्दा श्रीमतीको नाम ज्योति रहेकोमा प्रहरीको प्रश्न
  • सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नता अस्वीकार, मितेरीबाट उल्टै पीडित बनेको दाबी 

प्रहरीले मितेरी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ हिनामिनामा मुछिएका कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङसँग पहिलो चरणको बयान लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो (सिआइबी)ले उनीसँग बुधबार बयान लिएको हो । सहकारी ठगी सम्बन्धमा गठित संसदीय विशेष छानबिन समितिले गुरुङलाई छानबिनको दायरामा ल्याउन भनेको थियो ।

सिआइबीले लाजिम्पाटस्थित कार्यालयमै बोलाएर गुरुङसँग पाँच घण्टा बयान लिएको थियो । बयानका लागि गुरुङ बिहान ११ बजे नै कार्यालय पुगेका थिए । बुधबार मध्याह्न १२ बजेदेखि बयान सुरु भएर ५ बजे सकिएको थियो । सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले धनराजसँग पाँच घण्टा बयान लिइएको बताए । ‘मितेरी सहकारीमा अपचलन भएको रकमको सम्बन्धमा सिआइबी अनुसन्धानरत छ । सोही क्रममा बुधबार धनराज गुरुङसँग बयान लिइएको छ । मध्याह्न १२ बजेदेखि सुरु बयान साँझ ५ बजेसम्म जारी रह्यो,’ उनले भने । सिआइबीले घटनामा जोडिएका गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ, सुजन शाक्य, ज्योतिबहादुर भण्डारी, हितमान थापा र प्रकाश थापाविरुद्ध गत ६ असोजमा पक्राउ पुर्जी जारी गरेको थियो । तर, गुरुङविरुद्ध भने पक्राउ पुर्जी जारी भएन । त्यसैले सिआइबीले उनलाई बयान लिएलगत्तै छाडिदिएको छ ।

एआइजी दीपक थापा प्रमुख, सिआइबी
धनराज गुरुङसँगको पहिलो चरणको बयान सकिएको छ । बयानपछि उहाँ घर जानुभएको छ । अनुसन्धानका क्रममा उहाँसँग थप बयान हुन पनि सक्छ । त्यस्तो देखिए उहाँलाई पुनः कार्यालय बोलाएर बयान लिनेछौँ । 

सिआइबी प्रमुख एआइजी दीपक थापाले गुरुङसँग पहिलो चरणको बयान सकिएको, तर आवश्यक परे थप बयान पनि लिन सकिने बताए । ‘धनराज गुरुङसँगको पहिलो चरणको बयान सकिएको छ । बयानपछि उहाँ घर जानुभएको छ । अनुसन्धानका क्रममा उहाँसँग थप बयान हुन पनि सक्छ । त्यस्तो देखिए उहाँलाई पुनः कार्यालय बोलाएर बयान लिनेछौँ,’ उनले भने ।

संसदीय छानबिन समितिले नै गरेको थियो कारवाहीको सिफारिस 
प्रहरीसँगको बयानमा गुरुङले मितेरी सहकारीको रकम हिनामिनामा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् । उनले बरु आफू सहकारीबाट उल्टो पीडित बनेको गुनासो गरे । पूर्वपत्नी ज्योतिले सहकारीको तीन करोड रुपैयाँ ज्योतिबहादुर भण्डारीलाई मिटरब्याजमा दिएको ऋण तिर्न अस्वीकार गर्दाको परिणाम हालसम्म भोगिरहेको उनले प्रहरीसमक्ष भनेका छन् ।

‘ज्योतिले विगतमा मितेरी सहकारीबाट तीन करोड रुपैयाँ झिकेर ज्योतिबहादुरलाई मिटरब्याजमा ऋण दिएकी रहिछन् । ऋण चुक्ता नभएपछि सहकारीले मलाई कार्यालय बोलाएर तिर्न भन्यो । अरूले लिएको ऋण तिर्दिनँ । बरु ऋण उठाउन सहयोग गरौँला, भन्नुपर्ने ठाउँमा भनौँला भनेर घर फर्किएँ । सोही विषयमा घरमा श्रीमतीसँग झगडा भयो । उनी माइत हिँडिन् । त्यसको एक महिनापछि जिल्ला अदालत पाटनमा हाम्रो सम्बन्धविच्छेद भयो । २९ फागुनमा ०७६ भएको थियो हामीबिच सम्बन्धविच्छेद । त्यसपछि उनीसँग भेट भएको छैन,’ गुरुङको बयान उद्धृत गर्दै अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।

गुरुङले श्रीमतीसँग सम्बन्धविच्छेदपछि ३ फागुन ०७७ मा मितेरी सहकारीबाटै १२ लाख रुपैयाँ ऋण लिएका थिए, जसमा ज्योति गुरुङलाई ‘हकवाला’का रूपमा श्रीमती उल्लेख गर्दै ल्याप्चे लगाएको थियो । संसदीय छानबिन समितिसँगको बयानमा सहकारीका अध्यक्ष कुम्भराज गुरुङले पनि उनीहरूको सम्बन्धविच्छेद ‘नाम मात्रको’ भएको बयान दिएका थिए । यस सम्बन्धमा अनुसन्धानमा संलग्न प्रहरी टोलीले गुरुङसँग प्रश्न गरेको थियो । जवाफमा उनले भनेका छन्, ‘घर बनाउने क्रममा मैले सहकारीबाट पहिले नै ऋण लिएको थिएँ । त्यसवेला ज्योतिसँग सम्बन्धविच्छेद भइसकेको थिएन । हकवाला उनी नै थिइन् । सम्बन्धविच्छेदपछि पुनः १२ लाख रुपैयाँ ऋण थप्नुपर्ने भयो । ३ फागुन ०७७ मा सहकारी गएर ऋणका लागि निवेदन दिएँ । कागजातबारे सोधपुछ गर्दा पहिलेकैले हुने सहकारीका कर्मचारीले बताए । होला त भनेर हस्ताक्षर गरेँ । त्यसो गर्नु मेरो भुल भयो ।’

गुरुङ गत ४ मंसिर ०७९ को प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा २ बाट विजयी भएका हुन् । उम्मेदवारी दर्ताको फाराम भर्दासमेत उनले ज्योतिलाई श्रीमती नै भनी उल्लेख गरेका छन् । प्रहरीले उनीसँग यस विषयमा पनि प्रश्न गरेको थियो । यस क्रममा गुरुङले ‘उम्मेदवारी दर्ताको फाराम साथीहरूले भरिदिएको, ज्योति र मबिच सम्बन्धविच्छेद भइसकेको जानकारी उनीहरूलाई नभएको हुँदा फाराममा मेरो श्रीमती ज्योति नै हो भनी भुलवश उल्लेख गरेको’ बयानमा भनेका छन् । गुरुङले सहकारीबाट लिएको ऋण घर बेचेर चुक्ता गरेको बताउँदै आएका छन् । यस विषयमा प्रहरीले गरेको ‘इन्क्वायरी’मा गुरुङले भनेका छन्, ‘घर धितो राखी मितरीबाट ऋण लिएका थियौँ । ज्योतिसँग सम्बन्धविच्छेद हुँदा उक्त ऋण मैले तिर्नुपर्ने भनियो । म सहमत भएँ । ४ चैत ०७८ मा सहकारीले धितो राखेको घर एक करोड ८५ लाखमा बिक्री गर्‍यो । सबै रकम सहकारीले लियो । त्यतिले पनि पुगेन भनेर थप ८४ लाख रुपैयाँ माग गर्‍यो । अन्याय भयो भन्दै मैले तिर्न अस्वीकार गरेँ, तर सहकारीले दबाब दिइरह्यो । केही सीप नचलेपछि मैले मेरो सम्धि मीनबहादुर गुरुङसँग ऋण लिएँ । सोही रकम लगेर तिरेँ । यसमा मेरो के गल्ती भो ?’

सहकारीका अध्यक्ष कुम्भराज गुरुङले गत १४ साउनमा बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । उजुरीमा धनराजको नामै किटेर हिनामिनामा संलग्नता रहेको उल्लेख थियो । तर, राजनीतिक दबाबमा रजिस्ट्रार कार्यालयले उनको नाम काटेर बाँकी पाँचजनाको नाम मात्रै सिआइबीमा सिफारिस गरेको थियो । त्यसअघि कुम्भराज जाहेरी बोकेर सिआइबी कार्यालय पनि पुगेका थिए । सम्बन्धित कार्यालयको सिफारिसविना अनुसन्धान गर्न नसकिने भन्दै त्यसवेला सिआइबीले जाहेरी फिर्ता गरिदिएको थियो । धनराजविरुद्ध अनुसन्धान प्रक्रिया अघि नबढ्ने भएपछि कुम्भराजसहितको टोली सरकारबाट गठित संसदीय छानबिन विशेष समितिमा पुगेर उजुरी दिएको थियो । समितिले सहकारीको कार्यालय अनुगमन गर्नुका साथै कुम्भराजको बयान लिएको थियो । उनले रकम हिनामिनामा धनराजको पनि संलग्नता रहेकोे बयान दिएका थिए । रकम अपचलनकै क्रममा धनराजले २९ फागुन ०७६ मा ज्योतिसँग कागजी सम्बन्धविच्छेद गरेका थिए । संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा धनराजमाथि थप अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको थियो ।

सूर्य थापा नेतृत्वको संसदीय समितिले स्पष्ट रूपमा गुरुङविरुद्ध थप छानबिन गरी कारबाही अघि बढाउन निर्देशन दिएको छ । ‘सहकारीकै कारण कतिपयले नक्कली विवाहसमेत गर्ने गरेको चर्चा छ । मितेरी बचत तथा ऋण सहकारीमा कार्यरत ज्योति गुरुङले पति धनराज गुरुङसँग सम्बन्धविच्छेद गरेर पनि सँगै बस्ने गरेको चर्चा छ,’ समितिले भनेको छ, ‘निजहरूको सम्बन्धविच्छेदको मिलापत्र फैसला अनुसूची– २३ मा प्रस्तुत गरिएको छ ।’
 

सुझावित समाचार