सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले तथा कार्यवाहक प्रवक्ता मनीष झाले भेट गरेका छन् । लामिछानेलाई भेट्न तीन नेता सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेका थिए । रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाले सामाजिक सञ्जाल फेसबुकमार्फत तीन नेताले सभापति लामिछानेसँग भेट गरेको र आधा घण्टा विशेष बैठक बसेको जानकारी दिएकी छिन् ।
रास्वपाले सभापति लामिछाने पक्राउविरुद्ध बुधबार आन्दोलनको नयाँ कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ । सोही सिलसिलामा अर्याल, वाग्ले र झा लामिछानेलाई भेट्न जिल्ला प्रहरी कार्यालय गएका थिए । झाले अदालतले १३ दिन म्याद थपेपछि सभापति लामिछानेको स्वास्थ्य अवस्था बुझ्न र पार्टीको आधिकारिक धारणा बनाउन छलफल गरेको बताए ।
रास्वपा उपसभापति अर्यालले सभापति लामिछानेको पक्राउको विरोधमा पार्टीको आन्दोलन निरन्तर जारी रहेको बताए । ‘पार्टी र पार्टीका सभापतिको आधिकारिक धारणासँगै पार्टीले गर्ने अर्को चरणको आन्दोलन र त्यसको मोडालिटी बुधबार सार्वजनिक गर्छौँ,’ उनले भने । अनुसन्धानको प्रक्रियामा सभापति लामिछानेले बाहिर बसेर गर्न सकिने विषयमा आफूलाई हिरासतमा राख्नु राजनीतिक प्रतिशोध भएको र यो कुरा नागरिकलाई बुझाउन सकिएको छ कि छैन भनेर सोधेको अर्यालले बताए । ‘एकजना नागरिक जसले जनताले आशा बोकेर आएको छ, देशमा २०औँ वर्षपछि युवाहरूको एउटा लिडर आएको छ, यदि रास्वपा स्थापित हुन सकेन भने देशमा २० वर्ष युवा पुस्ता राजनीतिमा आउँदैन, यो कुरा हामी सबैले बुझ्नु जरुरी छ । त्यसकारण युवा पुस्तालाई राजनीतिक रूपमा आउन नदिन यो षड्यन्त्र हो भन्ने बिम्ब देखिन्छ,’ उनले भने ।
अर्का उपसभापति वाग्लेले राजनीतिक प्रतिशोध साध्नकै लागि रवि लामिछानेलाई अनावश्यक हिरासतमा राखिएको बताए । ‘हामीले न्यायिक अनुसन्धानको कहिल्यै पनि विरोध गरेनौँ । हामी बहुलवादी लोकतान्त्रिक शक्ति हौँ, विधिको शासनमा हाम्रो पूर्ण अटल आस्था पनि छ । कहीँ कमीकमजोरी रहेछ भने त्यसलाई यही विधिको शासनमा टेकेर मौजुदा संवैधानिक प्रावधानमा टेकेर सुधार गर्दै जानुपर्छ । न प्रमाण नष्ट गर्ने आधार छ, न भागेर जाने आधार छ, न थप अपराध गर्ने आधार छ, तर पनि धेरै दिन हिरासतमा राखिएको छ, यो अति भयो,’ उनले भने ।
कार्यवाहक प्रवक्ता झा अनावश्यक रूपमा राज्यको दम्भ र प्रतिशोधलाई कानुनी कारण नमान्ने बताए । ‘कानुनी र प्रक्रियागत रूपमा हिरासतमै राखेर छानबिन गर्नुपर्ने भन्ने पर्याप्त आधार र कारण देखिँदैन । उहाँलाई हिरासतमा राखेको २५ दिन भयो । आइतबार १३ दिन म्याद थपिएको छ । यो अवस्थामा आफूहरू सभापतिको अवस्था के–कस्तो छ भनेर बुझ्न आएका हौँ,’ उनले भने, ‘भेटमा हामीले सभापतिको स्वास्थ्य अवस्था बुझ्नुका साथै आन्तरिक छलफलसमेत गर्यौँ । अब पार्टी सांगठनिक प्रक्रियाका विषयमा केन्द्रीय समितिमा छलफल गर्छौँ र त्यसलाई सचिवालयबाट अनुमोदन गरी बुधबार पत्रकार सम्मेलन गरी पार्टीको धारणा सार्वजनिक गर्छौँ ।’
लामिछानेलाई मंगलबार रुपन्देही लगिने भएको छ । प्रहरीले रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्न उनलाई रुपन्देही लैजान लागेको हो ।