परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालमा लैंगिक समानता र महिला सशक्तीकरणका क्षेत्रमा गएका तीन दशकयता धेरै नै उपलब्धि भए पनि चुनौतीहरू पनि रहेका उल्लेख गरेकी छिन्।
युएन वुमनद्वारा सोमबार राजधानीमा आयोजित ‘बेइजिङ प्लस तीस’को सिभिल सोसाइटी रिपोर्ट सार्वजनिक गर्दै मन्त्री डा. राणाले ३० वर्षअघि बेइजिङमा सम्पन्न विश्वका नेताहरूको सम्मेलनपछि नेपालमा पनि महिला अधिकार, लैंगिक समानता तथा महिला सशक्तीकरणका क्षेत्रमा धेरै काम भएका बताएकी हुन्।
‘मलाई लाग्छ नेपालका महिलाले अहिले प्राप्त गरेका संवैधानिकलगायतका अधिकारहरूको बीजारोपण ३० वर्षअघिको बेइजिङ सम्मेलनमा भएको हो। सो चौथो विश्व महिला सम्मेलनले लैंगिक समानता, महिला सशक्तीकरण, महिलाविरुद्धका हिंसाको उन्मूलनलगायतका १२ वटा क्षेत्रका प्रतिबद्धता अघि सारेको थियो,’ उनले भनिन्।
सो बेइजिङ सम्मेलनमा आफ्नो सक्रिय सहभागिता रहेको स्मरण गर्दै उनले त्यसयता नेपालका महिलाले अघि बढाएको अभियानले देशमा महिलाका क्षेत्रमा धेरै काम भएका तथा प्रजनन स्वास्थ्यदेखि धेरै अधिकार महिलाले संवैधानिक रूपमै प्राप्त गरेका उल्लेख गरिन्।
सो सम्मेलनपछिका ३० वर्षमा महिला अधिकार र लैंगिक समानताका क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि अझै धेरै काम गर्न भने बाँकी रहेको मन्त्री डा. राणाको भनाइ थियो। उनले बालिकाहरूको विद्यालय भर्ना, श्रमबजारमा महिलाको सहभागिता, मातृ स्वास्थ्य, बालविवाहमा न्यूनीकरण एवं सम्पत्तिमा महिला अधिकार आदि क्षेत्रका सूचकांकमा नेपालले प्रगति गरेको उल्लेख गरिन्।
नेपालका नीतिहरू लैंगिक दृष्टिकोणलाई मूलप्रवाहीकरण गर्नुका साथै सीमान्तकृत समुदायका महिला, आदिवासी, दलित र अपांगता भएकाहरूप्रति केन्द्रित रहेका मन्त्री डा. राणाले बताइन्।
संवैधानिक र कानुनी प्रत्याभूतिका कारण नेपालमा पनि राजनीतिमा महिला सहभागिता बढ्दै गएको उनले स्पष्ट पारिन्। यद्यपि, महिलामाथि हुने गरेका विभेद र डिजिटल युगमा बढ्दो भ्रमपूर्ण सूचनाले महिलालाई बढी तारो बनाउने गरेको आफूले पाएको उनको धारणा थियो।
आफ्नै उदाहरण प्रस्तुत गर्दै उनले भनिन्, ‘बढ्दो डिजिटल युगसँगै गलत सूचनाले महिलालाई बढी सिकार बनाएको मेरो अनुभव छ। जस्तो कि मेराबारेमा पनि कति धेरै गलत सूचना सम्प्रेषण गरिएका थिए। विश्वका महिला नेतृहरूको पनि यस्तै अनुभव रहेछ। म हालै सहभागी भएको क्यानडा र संयुक्त राष्ट्रसंघीय महासभामा विश्वका महिला नेतृहरूले पनि यो अनुभव सेयर गर्नुभएको थियो।’
सबैखाले चुनौतीका विरुद्धमा लडेरै अघि बढ्नुपर्ने भनाइ राख्दै उनले भनिन्, ‘महिला सशक्तीकरणका लागि हामीले बाटो बनाएका छौँ। हामीले दिशा पनि निर्धारण गरेका छौँ। हामीले कामका लागि गति सिर्जना गरेका छौँं। तैपनि कहिलेकाहीँ यो बाटोबाट पछाडि धकेल्ने प्रयासहरू हुने भएकाले प्राप्त गरेका उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिका लागि अझ अघि बढ्दै जानुपर्छ।’