नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’को अन्तर्राष्ट्रिय सार्वजनिक प्रदर्शन हुने भएको छ । टोरोन्टो, बुसानलगायत विश्व प्रतिष्ठित फिल्म फेस्टिभलहरूमा प्रदर्शन भइसकेको चलचित्र हङकङ, थाइल्यान्ड, इन्डोनेसिया, युके, इटालीलगायका देशमा सर्वजनिक प्रदर्शनमा आउन लागेको हो ।
‘गाउँ आएको बाटो’लाई हङकङको गोल्डेन सिन सिनेमाले शनिबार र आइतबार (नोभेम्बर २–३)मा सार्वजनिक प्रिमियर गर्दै छ । गोल्डेन सिन सिनेमाले पहिलोपटक नेपाली चलचित्रको वितरण अधिकार किनेर सार्वजनिक रूपमा प्रदर्शन गरेको हो ।
यसअघि यो चलचित्र हङकङको नेपाली दर्शकलाई लक्षित गरी प्रदर्शन गरिएको थियो । गोल्डेन सिन सिनेमाको हलमा १२ शोमा बाँडेर देखाइएको चलचित्रलाई झन्डै आठ सय दर्शकले हेरेका थिए ।
प्रदर्शनमा सहभागी हुन नेपालबाट निर्देशक नवीन सुब्बासहित अभिनेत्री पशुपति राई, बालकलाकार प्रसन राई, लाइन प्रोड्युसर मिङ्सो लिम्बू हङकङ पुगेका थिए । चलचित्रलाई अंग्रेजी र चिनियाँ सबटाइटलमा हङकङका पाँचवटा हलमा प्रदर्शन गरिनेछ । गोल्डेन सिनले आफ्नो वेबसाइडमा ‘गाउँ आएको बाटो’को चिनियाँ पोस्टर सार्वजनिक गर्दै २५ अक्टोबरदेखि बक्स अफिस खुला गरेको थियो ।
चलचित्र निर्माता अमोद राईका अनुसार टोरोन्टो, बुसानजस्ता विश्वप्रतिष्ठित फिल्म फेस्टिभलमा प्रदर्शनपछि ‘गाउँ आएको बाटो’ अन्तर्राष्ट्रिय दर्शकमाझ आउन लागेको हो । हङकङमा रहेका नेपाली समुदायलाई चलचित्र हेर्न अग्रह गर्दै उनले भने, ‘गाउँ आएको बाटो अन्तर्राष्ट्रिय दर्शकमाझ आउँदा हामी उत्साहित छौँ । यो सपना हामीले लामो समयदेखि देखेका थियौँ । यो सफलता त्यो यात्रामा हामीले गरेको दुःखको प्रतिफल हो जस्तो लाग्छ । हङकङमा केही समयअघि चलचित्रलाई नेपाली समुदायबिच प्रदर्शन गरिएको थियो, अब भने सार्वजनिक रूपमा प्रदर्शन हुँदै छ। यो चलचित्र हेर्न छुट्नुभएको छ भने एकपटक हेर्न आग्रह गर्छु ।’
हङकङबाट प्रकाशन हुने ‘साउथ चाइना मर्निङ पोस्ट’ले ‘गाउँ आएको बाटो’लाई हङकङमा यो साताको गरिने उत्कृष्ट कामको पाँचौँ सूचीमा राखेको छ । यस्तै अन्य स्थानीय सञ्चारमाध्यमहरूले पनि ‘गाउँ आएको बाटो’को चर्चा गरेका छन् ।
हङकङमा रहेका देवराज राई कार्यकारी निर्माता रहेको चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, प्रेम सुब्बालगायतको अभिनय छ । चलचित्रको सहनिर्माताका रूपमा हङकङबाट अरुण राई, मातृदीप राई, रामली राई, सुमन वोनेम, मायादेवी राईलगायत रहेका छन् ।
नेपालको फिल्ममेकिङ इतिहासमा धेरै हङकङका चिनियाँ फिल्ममेकरहरू यो चलचित्रमा संलग्न भएर काम गरेका छन्। चलचित्रमा सम्पादन ताइवानका क्वान पुन लुङ र संगीतको काम हङकङकी संगीतकार हाइडी लीले गरेकी हुन्।