कम्युनिस्ट आन्दोलनको रूपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक : प्रचण्ड

बुधबार, १४ कार्तिक, २०८१
डिजिटल संस्करण
कम्युनिस्ट आन्दोलनको रूपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक : प्रचण्ड

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनको एकता र रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्।

नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा माओवादी केन्द्र, केन्द्रीय कार्यालयले बुधबार काठमाडौंमा आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ बर्ष र आगामी कार्यभार’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो धारणा राखेका हुन्।

त्यस्तो आत्मसमीक्षा तीन तहमा हुनुपर्ने उल्लेख अध्यक्ष प्रचण्डले भने, ‘कम्युनिष्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैंभित्र आत्मसमीक्षा गरौं। हरेक पार्टीभित्र इमान्दार आत्मसमीक्षा गरौं। अनि बल्ल कम्युनिष्ट पार्टीहरुको बीचमा आत्मसीक्षा गरौं।’ हरेक कम्युनिष्ट नेता कार्यकर्ता र पार्टीहरुले क्रान्तिलाई किन सही रुपले अघि बढाउन सकेनौं र आम मानिसमा निराशा बढाइरहेको समस्याको पहिचान गर्न अब भाषण गरेर मात्र नहुने उनले स्पष्ट पारे।

‘म देशभरिका कम्युनिष्टहरुलाई गम्भीर आत्मसीक्षाका लागि अपिल गर्न चाहन्छु’, उनले भने, ‘म आदर्शको रुपमा मात्र यसो भनिरहेको छैन, हाम्रो पार्टीभित्र गम्भीर आत्मसीक्षा सुरु गरेर मात्रै अरुलाई अपिल गर्न थालेको हुँ।’ क्रान्तिकारीहरुले आफ्नो गल्ती स्वीकार गर्न सक्नुपर्ने उल्लेख गर्दै प्रचण्डले आत्मसीक्षाले मात्रै कम्युनिष्ट पार्टीहरुमा एकता, रुपान्तरण र नयाँ क्रान्तिको प्रक्रिया सुरु हुने बताए।

‘हामीले सिद्धान्ततः दलाल नोकरशाहीविरुद्ध लड्नुपर्छ भनिरहेका छौं, तर हामीभित्रै सुरु हुँदै गरेको खराबीविरुद्ध लड्न सुरु नगरी अरुलाई परास्त गर्न सकिँदैन,’ उनले भने, ‘हिजो व्यापक कम्युनिष्ट एकता गरेर समाजवादमा अघि बढ्न सकिन्छ कि भनेर अभ्यास गर्यौं। सँगै मिलेर चुनाव पनि लड्यौं, तर वैचारिक स्पष्टता कायम गर्न नसक्दा क्षति व्यहोर्नुपर्यो। अब पहिले आफैँभित्र वैचारिक स्पष्टताका लागि संघर्ष गरौं। त्यही संघर्षको बीचमा रुपान्तरणसहितको एकताको थालनी गरौं।’

कम्युनिष्ट नेता कार्यकर्ताहरुमा सिद्धान्त, विचार र कार्यशैली, आचरणको बीचमा ठूल्ठूला खाडल देखापर्दै गएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सिद्धान्त र व्यवहारको अन्तर्विरोध हल गर्नतिर जोड दिएर लाग्नुपर्ने बताए। कम्युनिष्टहरुको नेतृत्वमा नेपालमा विश्वलाई चकित पार्ने राजनीतिक उपलब्धि प्राप्त भएको जिकिर गर्दैै उनले अब नयाँ समाजवादी क्रान्तिका लागि धेरै काम गर्न बाँकी रहेको र त्यसको प्रस्थानविन्दु वैचारिक स्पष्टता नै हुनुपर्ने बताए।

See More On

सुझावित समाचार