एक वर्षमा लुम्बिनीका चार हजारभन्दा बढी उद्योग–व्यवसाय बन्द

सोमबार, १२ कार्तिक, २०८१
डिजिटल संस्करण

राम्रै आम्दानी गरिरहेको दाङ घोराहीको गौतम पोल्टी फार्म कोरोनापछि बन्द हुने अवस्थामा पुगेको छ । करिब डेढ करोड लगानी भएको फार्म कोरोनाकालपछि लगानी उठाउन पनि सकस हुन थालेकाले बन्दै गर्नुपर्ने अवस्था आएको सञ्चालक लीलाधर पाठकले बताए । ‘तीन–चार वर्ष राम्रै चलेको थियो,’ उनले भने, ‘जब कोरोना सुरु भयो, त्यसपछि घाटाको घाटा भयो, अहिले बन्दै गर्नुपर्ने अवस्थामा आइपुगेको छ ।’ ०७० सालमा सञ्चालनमा आएको फार्मले दानाको काम गर्दै आएको उनले बताए । 

त्यस्तै, पाल्पाका श्याम घर्तीले पनि तीन–चार वर्षजति चलाएको रेस्टुरेन्ट बन्द गरे । रैनादेवी छहरा– ३ मा रहेको रेस्टुरेन्ट घाटामा गएपछि त्यो बेचेर किराना पसल चलाउन थालेको उनले बताए । करिब सात लाख लगानी रेहेको रेस्टुरेन्टको लगानीसमेत उठाउन नसकेको उनको गुनासो छ ।   

त्यस्तै, दाङ घोराहीकै गीता थापाले चार वर्षअघि घरेलुमा फार्म दर्ता गरेर लोकल जातका कुखुरापालन र तरकारी खेती गरेकी थिइन् । तर, पछिल्लो समय कर तिर्नसमेत नसक्ने अवस्था आएपछि फार्म बन्द गर्न बाध्य भएको उनले बताइन् । ‘६ वर्षअघिदेखि कुखुरापालन र तरकारी खेती गर्दै आएकी थिएँ, तर चार वर्षअघि मात्रै दर्ता भएर चलाएकी हुँ,’ उनले भनिन्, ‘अहिले मलाई कर तिर्नै धौ–धौ भएर फार्म बन्द गरिदिएँ ।’ कर कार्यालयमा सात हजार पाँच सय र वडा कार्यालयमा दुई हजार दुई सय रुपैयाँसम्म तिर्न सक्ने अवस्था नभएपछि फार्म बन्द गरेको उनको भनाइ छ । यी त केही प्रतिनिधि उदाहरण मात्रै हुन् । पछिल्लो समय व्यापार घाटा भएकै कारण घरेलु तथा साना उद्योगहरू बन्द हुने क्रम बढेको छ । लुम्बिनी प्रदेशमा मात्रै पछिल्लो एक वर्षमा चार हजार उद्योग–व्यवसाय बन्द भएका छन् ।  

लुम्बिनी प्रदेश उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अनुसार आर्थिक वर्ष ०७९/८० मा लुम्बिनी प्रदेशका चार हजार ५२ उद्योग बन्द भएका छन् । जसमा वाणिज्यतर्फ एक हजार नौ सय ३३ र उद्योगतर्फ दुई हजार एक सय १९ रहेका निमित्त निर्देशक ईश्वरचन्द्र अर्यालले बताए । यो अवधिमा सबैभन्दा बढी दाङका आठ सय ७६ उद्योग बन्द भएका छन् भने सबैभन्दा कम रुकुम पूर्व र अर्घाखाँचीका ५२–५२ उद्योग बन्द भएका छन् ।

  ‘दर्ता घट्न थाले, बन्द हुने बढे’
पछिल्लो समय लुम्बिनीमा दर्ता हुनेभन्दा बढी बन्द हुने उद्योगहरू बढ्न थालेका छन् । आर्थिक वर्ष ०७९/८० देखि उद्योग–व्यवसाय बन्द हुने क्रम बढेको घरेलु तथा साना उद्योग कार्यालय दाङका सूचना अधिकारी गोपाल पौडेलले बताए । ‘कोरोनापछि मुलुकमा आर्थिक मन्दी छ, व्यापार घाटा छ,’ उनले भने, ‘त्यसले गर्दा पनि उद्योगहरू बन्द भइरहेको अवस्था छ ।’ 

व्यवसाय नचलेको भन्दै आफ्ना उद्योग–व्यवसाय बन्द गर्न आउने व्यवसायीहरू बढेको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका सूचना अधिकारी मनोज घिमिरेले बताए । ‘बन्द गर्न आउँदा धेरैलाई हामी कारण सोध्छाैँ,’ उनले भने, ‘सबैले व्यापार घाटा भएकाले बन्द गरेको जवाफ दिनुहुन्छ ।’ अधिकांश युवाहरू विदेश पलायन हुने तथा आर्थिक मन्दीको मार व्यवसायमा पर्ने गरेको उनको भनाइ छ । 

सानो जिल्ला रहेको रुकुम पूर्वमा समेत उद्योग बन्द गर्न दैनिक दुई–तीनजना आउने गरेको घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वका सूचना अधिकारी सन्तोष मल्लले बताए । उनका अनुसार केहीले कार्यालयमै आएर कानुनी रूपमा उद्योग बन्द गरेका भए पनि केहीले भने उद्योग मात्रै बन्द गरेका छन् । त्यसले गर्दा उद्योग बन्द हुनेको संख्या अझ धेरै भएको हुन सक्ने उनको भनाइ छ ।  

 उद्योग बन्द हुँदा रोजगारी पनि गुम्दै 
उद्योग बन्द हुँदा स्थानीयस्तरमा रोजगारी अवसर पनि गुम्न थालेको छ । यसले थप बेरोजगारी बढाउने देखिएको लुम्बिनी प्रदेश उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय निमित्त निर्देशक ईश्वरचन्द्र अर्यालले बताए । उनका अनुसार पछिल्लो वर्ष मात्रै १२ हजारभन्दा बढीको रोजगारी गुमेको छ । लुम्बिनीमा गएको वर्ष मात्रै पाँच हजार तीन सय ६१ नयाँ उद्योग थपिँदा १५ हजार दुई सय चारजनाले रोजगारी पाएका छन् । यही अनुपातलाई हेर्दा बन्द भएका उद्योगबाट प्रदेशमा १२ हजारभन्दा बढीको रोजगारी गुमेको उनले बताए ।  

गएको वर्ष उद्योग–व्यवसायबाट आठ करोड ८० लाख ३९ हजार आठ सय ६६ रुपैयाँ राजस्व संकलन भएको छ । नयाँ उद्योग, दर्ता, बन्द, संशोधनलगायतबाट उद्योगतर्फ चार करोड २३ लाख र वाणिज्यतर्फ चार करोड ५७ लाख राजस्व संकलन भएको छ । लुम्बिनी प्रदेशमा एक वर्षको अवधिमा घरेलु तथा साना उद्योगमा १५ अर्बभन्दा बढी लगानी थप भएको छ । लुम्बिनीका १२ जिल्लामा रहेका उद्योग–व्यवसायमा १५ अर्ब ११ करोड ५५ लाख ५४ हजार ७४ रुपैयाँ लगानी थपिएको हो । साना व्यवसायीलाई तीनै तहका सरकारले प्रोत्साहन गर्ने नीति नल्याउनुले पनि उद्योग बन्द हुने अवस्थामा पुगेको घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले बताए । 

 ‘ठुला उद्योग पनि मारमै छन्’ 
तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रामप्रसाद चालिसेले ठूला व्यवसायीहरू पनि आर्थिक मन्दीको मारमा परेको बताए । चार–पाँच वर्षअघिको तुलनामा अहिलेको व्यापार नगण्य रहेको उनको भनाइ छ । ‘सबै व्यवसायी मारमा छन्, खासगरी कोरोनापछि यो समस्या देखिएको छ,’ उनले भने, ‘व्यवसाय नहुँदा यसरी बन्द हुने क्रम बढेको हो ।’ पछिल्लो समय व्यवसायीहरू भाडासमेत तिर्न सक्ने अवस्थामा नभएको भन्दै यसमा सरकारले ध्यान दिनुपर्ने उनले बताए । 

घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी गोपाल पौडेल भन्छन्– पछिल्लो समय लुम्बिनीमा दर्ता हुनेभन्दा बढी बन्द हुने उद्योगहरू बढ्न थालेका छन् । आर्थिक वर्ष ०७९/८० देखि उद्योग–व्यवसाय बन्द हुने क्रम बढेको छ । कोरोनापछि मुलुकमा आर्थिक मन्दी छ, व्यापार घाटा छ । त्यसले गर्दा पनि उद्योगहरू बन्द भइरहेको अवस्था छ ।

सुझावित समाचार