लक्ष्यको ८४.२३ प्रतिशत उठ्यो आन्तरिक राजस्व

शुक्रबार, ९ कार्तिक, २०८१
डिजिटल संस्करण

तीन महिनामा एक खर्ब ३४ अर्ब २५ करोड ९२ लाख राजस्व उठाउने लक्ष्य, एक खर्ब १३ अर्ब आठ करोड ७२ लाख संकलन मदिरा, बियर र सुर्ती–चुरोटबाट सरकारलाई २२ अर्ब २० करोडको राजस्व, हवाई क्षेत्रको भ्याटबाट सात अर्ब ३७ करोड भ्याट उठ्यो

सरकारले चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो त्रैमास (साउन–असोज)मा लक्ष्यको ८४.२३ प्रतिशत आन्तरिक राजस्व संकलन भएको छ । आन्तरिक राजस्व विभागका अनुसार यस अवधिमा एक खर्ब १३ अर्ब आठ करोड ७२ लाख राजस्व संकलन भएको छ । विभागले एक खर्ब ३४ अर्ब २५ करोड ९२ लाख राजस्व उठाउने लक्ष्य राखेको थियो ।

विभागले अन्तःशुल्कबापत २६ अर्ब १९ करोड ६३ लाख (९१.९) प्रतिशत संकलन गरेको छ । विभागले भने २८ अर्ब ५० करोड ४७ लाख अन्तःशुल्क उठाउने लक्ष्य लिएको थियो । त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) ३७ अर्ब ९७ करोड उठाउने लक्ष्य लिएकोमा ३१ अर्ब ४१ करोड (८२.७४ प्रतिशत) उठाएको छ । आयकरतर्फ   ५२ अर्ब ७५ लाख राजस्व उठाउने लक्ष्य लिएकोमा ४१ अर्ब एक करोड (७८.८६ प्रतिशत) उठाएको छ । 

एकलौटी व्यवसायबाट सात अर्ब २८ करोड राजस्व 
एकलौटी फर्म तथा व्यक्तिगत आम्दानीबापत सरकारले सात अर्ब २८ करोड ७७ लाख ४९ हजार कर उठाएको छ । असोजमा मात्रै यस्तो कर दुई अर्ब ४८ करोड ९४ लाख उठेको छ । साउन र भदौमा यस्तो कर चार अर्ब ७९ करोड ८३ लाख उठेको थियो । 

तलब–भत्ताबाट सात अर्ब २६ करोडको राजस्व
सरकारले पारिश्रमिक करबापत सात अर्ब २६ करोड २५ लाख संकलन गरेको छ । साउन र भदौमा चार अर्ब ७५ करोड ३८ लाख र असोजमा मात्रै दुई अर्ब ५० करोड ८६ लाख  यस्तो आय कर उठेको छ । पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करबापत सरकारले एक अर्ब ४७ करोड ५४ लाख उठाएको छ ।

पुँजीगत लाभकर साढे नौ अर्ब उठ्यो
घरजग्गा, सेयरजस्ता सम्पत्तिको बिक्री, हस्तान्तरणबाट हुने पुँजीगत लाभमा व्यक्ति वा एकलौटी फर्मलाई लाग्ने करलाई पुँजीगत लाभकर भनिन्छ । तीन महिनामा यस्तो कर नौ अर्ब ५४ करोड ९६ लाख ३० हजार संकलन भएको छ । आकस्मिक लाभबाट तीन करोड १६ लाख उठ्यो । आकस्मिक लाभबाट व्यक्तिगततर्फ तीन करोड १६ लाख र निकायगततर्फ दुई करोड ३८ लाख कर उठेको छ । 

बढी आयकर तिर्नेमा प्राइभेट कम्पनी
तीन महिनामा प्राइभेट लिमिटेड कम्पनीहरूले पाँच अर्ब ६६ करोड ९४ लाख आयकर तिरेका छन् । त्यस्तै, साझेदारी फर्म, सहकारी संस्था, ट्रस्ट, संघ–संस्था तथा विदेशी कम्पनीहरूले तीन अर्ब १३ करोड ३७ लाख आयकर तिरेका छन् । पब्लिक कम्पनीहरूले तीन अर्ब २५ लाख रुपैयाँ आयकर तिरेका छन् ।  सरकारको पूर्ण वा अधिकांश (५० प्रतिशतभन्दा बढी) स्वामित्व भएका सरकारी निकाय तथा त्यस्ता निकायको व्यवस्थापकीय नियन्त्रण भएको निकायको आयमा लाग्ने करबाट ७४ करोड पाँच लाख राजस्व उठेको छ । 

बैंक, वित्त कम्पनी वा अन्य निकाय वा व्यक्तिबाट भुक्तानी गरिने वा प्राप्त हुने ब्याजमा लाग्ने करबापत आठ अर्ब ७३ करोड २३ लाख उठेको छ । त्यस्तै, बहाल करबाट ५४ करोड १७ लाख ७४ हजार उठेको छ । कुनै पनि कम्पनी वा निकायमा लगानी गरेबापत प्राप्त हुने लाभांशबाट सरकारले ९६ करोड १९ लाख कर उठाएको छ । लगानीसम्बन्धी आम्दानीबाट सरकारले सात करोड ११ लाख उठाएको छ । अन्य आम्दानीबाट सरकारले ५२ करोड ९२ लाख उठाएको छ । 

चुरोट, सुर्ती र मदिराबाट २२ अर्ब २० करोड   
चुरोट, सुर्ती, बिडी, सिगार, गुट्का, खैनी, पान, मसला, मदिरा तथा बियरको खपतबाट सरकारले २२ अर्ब २० करोड ५० लाख राजस्व संकलन गरेको छ । सरकारले स्वदेशमा उत्पादन हुने यस्ता वस्तुबाट एक अर्ब ४४ करोड ४१ लाख स्वास्थ्य जोखिम कर उठाएको छ । सुर्तीजन्य पदार्थबाट पाँच अर्ब ९८ करोड दुई लाख  अन्तःशुल्क उठाएको छ । मदिराबाट पाँच अर्ब ९४ करोड ६७ लाख उठाएको छ । त्यस्तै, बियरबाट आठ अर्ब ८३ करोड ३९ लाख संकलन भएको छ । मदिरा, सुर्तीजन्य वस्तु र बियरबाहेकका औद्योगिक उत्पादनमा लाग्ने अन्तःशुल्कबापत पाँच अर्ब ४२ करोड ७१ लाख रुपैयाँ उठेको छ । 

स्वास्थ्य र शिक्षा क्षेत्रबाट ९५ करोड ७९ लाख राजस्व
सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रबाट ९५ करोड ७९ लाख राजस्व संकलन गरेको छ । सरकारी तथा सामुदायिक अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाबाहेक अन्य स्वास्थ्य संस्थाले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने करबाट सरकारले ३४ लाख ७० हजार आठ सय ८७ रुपैयाँ उठाएको छ । निजी शैक्षिक संस्थाले शैक्षिक सेवाहरूमा लाग्ने सेवा शुल्कबापत दुई लाख २० हजार दुई सय ३३ रुपैयाँ संकलन गरेको छ । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले तिर्नुपर्ने शिक्षण शुल्कमा लाग्ने सेवा शुल्कबापत सरकारले ९५ करोड ४२ लाख १८ हजार नौ सय नौ रुपैयाँ उठाएको छ ।

दूरसञ्चार सेवाबाट एक अर्ब ६८ करोड उठ्यो
इन्टरनेटमार्फत विज्ञापन, ओटिटी, क्लाउड, गेमिङ, एपजस्ता सेवामा लाग्ने विद्युतीय सेवाबाट कर चार करोड ७७ लाख रुपैयाँ संकलन भएको छ । वैदेशिक पर्यटन शुल्कबापत एक करोड दुई लाख २१ हजार, वैदेशिक रोजगार सेवा शुल्कबापत ५५ लाख ३५ हजार उठेको छ ।

दूरसञ्चार सेवाबाट सरकारले एक अर्ब ६८ करोड १६ लाख, टेलिफोन स्वामित्वबापत २८ करोड ६५ लाख र पेट्रोलियममा लगाउने प्रदूषण शुल्कबाट ६९ करोड ९८ लाख  उठाएको छ । 

उत्पादनबाट सात अर्ब ८३ करोडको भ्याट
उत्पादकले वस्तु उत्पादन गरी बिक्री गर्दा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट)बापत सात अर्ब ८३ करोड ८३ लाख तिरेका छन् । थोक तथा खुद्रा व्यवसायीले सात अर्ब २५ करोड तिरेका छन् । सबै प्रकारका ठेक्का व्यवसाय तथा परामर्श सेवामा लाग्ने भ्याटबापत ६ अर्ब ४४ करोड ७८ लाख उठेको छ । पर्यटन व्यवसायसँग सम्बन्धित व्यवसायमा लाग्ने मूल्य अभिवृद्धि करबापत ९१ करोड ८० हजार उठेको छ । सञ्चार सेवा, बिमा र हवाई उडानमा लाग्ने भ्याटबापत सात अर्ब ३७ करोड १० लाख उठेको छ । 

स्थानीय तह वा नेपालस्थित अन्तर्राष्ट्रिय संघ–संस्था वा नियोग वा सरकार वा मूल्य अभिवृद्धि कर नलाग्ने वस्तुको कारोबार गर्ने सार्वजनिक संस्थानले दाखिला गर्ने भ्याटबापत सरकारले एक अर्ब ५९ करोड ७६ लाख संकलन गरेको छ । 

सुझावित समाचार