साफ महिला च्याम्पियनसिपमा भुटानले माल्दिभ्सविरुद्ध १३–० को फराकिलो जित निकालेको छ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जितसँगै भुटान समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ। उसको तीन खेलबाट सात अंक छ। नेपालको दुई खेलबाट चार अंक छ।
आज नै नेपाल र श्रीलंकाबिच समूहको अन्तिम खेल हुँदै छ। नेपालले समूह विजेता बन्न कम्तीमा पनि ६ गोल गर्नुपर्नेछ। भुटानको गोलअन्तर १६ हुँदा नेपालको ११ छ।
श्रीलंकाको दुई खेलमा तीन अंक छ। नेपाललाई हराए श्रीलंका सेमिफाइनलमा पुग्नेछ।
कमजोर माल्दिभ्सविरुद्ध भुटानका लागि देकी लाजोमले एक्लै पाँच गोल गरिन्। देकी लाजोमले खेलको १५, १९, ४६, ५२ र ७० मिनेटमा गोल गरेकी हुन्।
पेमा छोदेन र डेकी याङदोनले समान दुई तथा नामगेल देमा, देकी याङदोन, छिरिङ लादेन र सोनाम छोदेनले समान एक गोल गरेका थिए।
समूह ‘ए’बाट बंगलादेश शीर्ष स्थान र भारत उपविजेता हुँदै अन्तिम चारमा प्रवेश गरिसकेका छन्। पाकिस्तान भने घर फर्किएको छ।