जलवायुसम्बन्धी २९औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप २९) मा नेपालको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भएका छन् । सम्मेलन २६ कात्तिकदेखि ७ मंसिरसम्म अजरबैजानको बाकु सहरमा हुँदै छ ।
अजरबैजानका राष्ट्रपति इहाम हेइदर ओग्लु अलिभेभको निमन्त्रणामा राष्ट्रपति पौडेल सम्मेलनमा सहभागी हुन लागेका हुन् । ‘जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको सिलसिलामा राष्ट्रपति अजरबैजानको भ्रमणमा जाने कार्यक्रम तय भएको छ,’ राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकार सुनीलबहादुर थापाले भने ।
राष्ट्रपति कार्यालयका जलवायु तथा वातावरण विज्ञ, परराष्ट्र एवं वन तथा वातावरण मन्त्रालयका अधिकारी पनि सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । यसपालि सम्मेलनको मूल नारा ‘हरित विश्वका लागि ऐक्यबद्धता’ तय भएको छ ।
सम्मेलनको उद्घाटन २६ कात्तिकमा हुनेछ भने २७ र २८ कात्तिकमा विश्वका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले हिमाल र जलवायु परिवर्तन तथा जलवायु न्यायका विषयमा सम्बोधन गर्ने तयारी छ ।