पाँचौंपटकको विस्तारपछि गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । नौ सदस्यीय मन्त्रिपरिषद् रहेको गण्डकीमा यसअघि आठजना नियुक्त भइसकेका थिए । एक मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी थियो ।
सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङबाट निर्वाचित भेषबहादुर पौडेललाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । पौडेललाई वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइएको छ ।
यसअघि १७ भदौमा एमाले सरकारमा सहभागी भएसँगै मन्त्रालय मिलान गर्नेक्रममा मनाङ १ (ख)बाट स्वतन्त्र निर्वाचित तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइएको थियो ।
उनले असन्तुष्ट जनाउँदै दिइएको मन्त्रालय अस्वीकार गर्दै सोही दिन राजीनामा दिएका थिए । गुरुङको राजीनामापछि रिक्त रहेको मन्त्रालयमा ५०औ दिनमा मुख्यमन्त्री पाण्डेले पौडेललाई मन्त्री नियुक्त गरेका हुन् ।
गण्डकीमा पहिलो र दोस्रो कार्यकालमा गरी तीनपटक कांग्रेसले सरकारको नेतृत्व सम्हाल्ने अवसर पाएको छ । हाल नौ सदस्यीय मन्त्रिपरिषद् पाँचजना कांग्रेसका मन्त्री छन् ।
उनीहरू सबै पुरुष हुन् । कांग्रेसका २७ मध्ये १८ जना पुरुष र नौजना महिला सांसद छन् । पहिलो कार्यकालमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री रहँदा गण्डकीमा १२ सदस्यीय मन्त्रिपरिषद् थियो । कांग्रेसका सातजना सबैजना पुरुष मात्र थिए ।