गृहमन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक आज बिहीबार अपराह्न सिंहदरबारमा बस्दै छ । अपराह्न ३ बजे राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सभाहलमा बस्ने बैठकमा मध्यअसोजको बाढीपहिरोको क्षतिको समीक्षा गर्दै विपत् संकटग्रस्त घोषित ७१ पालिकामा राहत प्याकेज घोषणा गर्ने एजेन्डा छ।
‘मध्यअसोजको बाढीपहिरोले अतिप्रभावित पालिकालाई संकटग्रस्त घोषणा गरिसकिएको छ, अब पुनर्स्थापना र पुनर्निर्माण पनि अगाडि बढाउनुपर्ने भएकाले सोहीअनुसार निर्णय हुन सक्छ,’ प्राधिकरणका एक अधिकारीले भने। बाढीपहिरोको क्षति मूल्यांकन गर्न प्राधिकरणका सहसचिव अर्जुन बमको नेतृत्वमा गठित समितिको प्रतिवेदन पनि कार्यकारी समितिमा पेस हुनेछ। समितिले ११ हजार परिवार विस्थापित भएको र ४६ अर्बको क्षति भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। तर, पुनर्निर्माणका लागि भने थप अध्ययन गर्नुपर्ने भएकाले आजको बैठकले यसबारे पनि निर्णय गर्ने ठानिएको छ।
समितिमा सहरी विकास, स्वास्थ्य र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसँगै सचिवहरू सदस्य रहेका छन्। त्यस्तै, नेपाली सेनाका रथी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य रहेका छन् भने विपत् प्राधिकरणका कार्यकारी प्रमुख सदस्यसचिव रहने व्यवस्था छ ।
प्रधानमन्त्री नेतृत्वको विपत् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक भोलि
कार्यकारी समितिको बैठकपछि शुक्रबार अपराह्न ३ बजे राष्ट्रिय परिषद्को बैठक बस्नेछ। प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको समितिको बैठक यस वर्ष पहिलोपटक बस्न लागेको हो। मध्यअसोजको बाढीपहिरोबारे नीतिगत निर्णय यो समितिले गर्नेछ।
प्रधानमन्त्री अध्यक्ष हुने परिषदमा सरोकारवाला मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारीलगायत सदस्य रहन्छन् ।