टीकाको दिन पोखराका मुख्य रुटमा निःशुल्क बस

सात रुटमा १८ वटा बस बिहान ७ देखि अपराह्न ४ बजेसम्म चल्ने

बिहिबार, २४ असोज, २०८१
डिजिटल संस्करण

दसैँको टीकाको दिन पोखरा महानगरपालिकामा निःशुल्क बस सेवा सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिका र यातायात व्यवसायीसँगको समन्वय/हकार्यमा निःशुल्क बस सेवा सञ्चालनको व्यवस्था गरेको हो ।

बस सेवा सञ्चालनको सम्बन्धमा जानकारी दिन प्रशासन कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यातायात व्यवसायीहरूको आग्रहमा कार्यालयले समन्वय गरेर बस सेवा सञ्चालन गर्न लागिएको जानकारी दिए । दसैँको दिन सर्वसाधारणलाई एक स्थाबाट अर्को स्थानमा जान सहज होस् भन्ने उद्देश्यले सबैको संयुक्त प्रयासमा सर्वसाधारणका लागि बस सञ्चालन गर्न लागिएको उनले बताए ।

बस सेवा सञ्चालनका लागि पोखरा यातायात प्रालिले तीन रुटमा नौवटा, स्थानीय यातायात कम्पनी प्रालिले एउटा रुटमा दुईवटा, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले एउटा रुटमा तीनवटा, बेगनास ताल पोखरा यातायात प्रालिले दुईवटा रुटमा चारवटा बस गरी सात रुटमा १८ वटा बस सञ्चालन गरिने भएको पोखरा महानगरपालिका– १६ का अध्यक्ष अमृत तिमल्सिनाले जानकारी दिए ।

फेदीबाट हेमजा–हरिचोक–पृथ्वीचोक, कोत्रेबाट–पृथ्वीचोक–चिप्लेढुंगा, बागलुङ बसपार्क, लामाचौरबाट–बगर–महेन्द्रपुल–बिरौटा, छोरोपाटन, महेन्द्रगुफाबाट–महेन्द्रपुल–चिप्लेढुंगा हँुदै लेकसाइड, काँहुखोला–पृथ्वीचोक हुँदै हल्लनचोक, बेगनास तालबाट–तालचोक–पृथ्वीचोक हुँदै बागलुङ बसपार्क र राजाको चौतारा–सातमुहाने–खुदी हुँदै बागलुङ बसपार्क रुटमा बसहरू सञ्चालन हुनेछन् । बस सेवा सञ्चालनका लागि पोखरा महानगरपालिकाले चालक र सहचालकलाई भत्ता उपलब्ध गराउनेछ भने पोखरेली ट्याक्सी व्यवसायी समितिले १५० लिटर डिजेल सहयोग गर्नेछ । दसैँका दिन कुनै समस्या परे महानगरपालिकाको टोल फ्री नं. ११८१ (हटलाइन) सेवामा सम्पर्क गर्न आग्रहसमेत गरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका अध्यक्ष केदार पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गत व्यवसायीले सहकार्य गरी सेवा सञ्चालनको निर्णय गरेको बताए । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले पहिलोपटक निःशुल्क बस सञ्चालन गर्न लागिएको र यसले दसंँका लागि एक स्थानबाट अर्को स्थानमा हिँडेकालाई सहज हुने विश्वास व्यक्त गरे । 

सुझावित समाचार