भीमफेदी कारागारका कैदीलाई कैलाश गाउँपालिकाले दियो खसी र खाद्यान्न

बुधबार, २३ असोज, २०८१
डिजिटल संस्करण

मकवानपुरको कैलाश गाउँपालिकाले भीमफेदीमा रहेको क्षेत्रीय कारागारका कैदीलाई खसी र खाद्यान्न उपलब्ध गराएको छ ।गाउँपालिकाले दसैँको उपलक्ष्यमा प्रत्येक वर्षझैँ यस वर्ष पनि कारागारमा रहेका कैदीबन्दीका लागि खसी र खाद्यान्न उपलब्ध गराएको हो । 

गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, वडा नम्बर १ का अध्यक्ष तेजबहादुर ब्लोन, वडा नम्बर ७ का अध्यक्ष उदासकुमार ब्लोन, लेखा अधिकृत नवीन धितालले मंगलबार कारागार पुगेर कैदीबन्दीलाई दसैँ मनाउन दुईवटा खसी, ६ बोरा चिउरा र दुई कार्टुन तेल हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा कैलाश गाउँपालिका घर भएका र कारागारमा कैदीबन्दी जीवन बिताइरहेकाहरूसँग दसैँको शुभकामना आदानप्रदानसमेत गरिएको थियो । 

गाउँपालिकाका अध्यक्ष मुक्तानले कारागारमा रहे पनि नेपालीको ठुलो पर्व दसैँमा खुसी साट्न सकियोस् भनेर शुभकामना आदानप्रदानसँगै खसी र खाद्यान्न उपलब्ध गराएको बताए । दुईवटा पुरुष ब्लक र एउटा महिला ब्लक रहेको कारागारमा एक हजार ४४ पुरुष, ४८ महिला कैदीबन्दी र एकजना आश्रित नाबालक रहेको कारागार प्रशानले जानकारी दिएको छ ।

सुझावित समाचार