सरकार कुरिरहेका राजधानीका बाढीपीडित

मंगलबार, १५ असोज, २०८१
डिजिटल संस्करण

स्थलगत रिपोर्टिङ

तीन दिन बितिसक्दा पनि तीनै तहका सरकारले राहतमा चासो नदेखाएको बल्खु, बालकुमारी र भैँसेपाटीका बाढीपीडितको गुनासो 

सामान्य समय हुन्थ्यो त यतिवेला पाटनका नानी महर्जन र छत्र महर्जनलाई भैँसेपाटीको खेतमा झुलेको धान भित्र्याउन भ्याइनभ्याइ हुन्थ्यो । खेतको सागपात बेचेर चाडबाडकोे खर्च जुट्थ्यो । तर, यो वर्ष त्यस्तो हुन सकेन । तीन रोपनी खेतमा फलेको धान बगरमा परिणत हुँदा भक्कानिनुबाहेक उनीहरूसँग विकल्प छैन । ६ दशक पार गरेका उनीहरूले जीवनमा पहिलोपल्ट यस्तो विपत् देखे र भोगे । ‘अब रोएर के गर्ने ? रोएर धान खेत फर्कंदैन,’ बगर बनेको खेतमै भेटिएकी उनले भनिन्, ‘पोहोर यहाँ मकै रोपेको थिएँ । यसपटक धान रोपेँ । धान साह्रै राम्रो भएको थियो, तरकारी पनि फस्टाएको थियो । सबै बगायो ।’ उनलाई कसैले केही गर्दैन भन्ने थाहा छ । त्यसैले बिस्तारै बगरलाई खेत बनाउने दिन कुरिरहेकी छिन् । ‘कसैबाट केही अपेक्षा छैन । आफैँले बिस्तारै बनाउने हो,’ उनले भनिन् । 

तीन रोपनी खेतमा लगाएको धानबाली बगरमा परिणत भएपछि भैँसेपाटीका नानी महर्जन र छत्र महर्जन यसरी हरेक दिन खेत भएको ठाउँमा आउने गरेका छन् । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

रामेछापबाट काठमाडौं आएको ३२ वर्षपछि रामबहादुर तामाङ हालै भैँसेपाटी सरेका थिए । पारिवारिक अवस्था फेर्न भन्दै उनी ४० सालतिर काठमाडौं छिरेका थिए । यसबिच उनको अवस्था नफेरिए पनि जेनतेन जीवन चलिरहेकै थियो । तर, यो वर्ष त कहिल्यै नदेखेको क्षति व्यहोर्नुपर्‍यो । ‘नख्खु खोलाको बाढीले खाने, बस्ने, सुत्ने सबै सामान प्रयोग गर्न नमिल्ने बनायो,’ बाढीको लेदो सफा गर्दै उनले भने, ‘बाढी त पहिला पनि आउँथ्यो । तर, यस्तो क्षति भएको थिएन ।’ ६ जनाको परिवारसहित भैँसेपाटी बस्न थालेका ६८ वर्षीय तामाङले तीनवटा टनेलमा तरकारी खेती गरेका थिए । भाडाकै जमिनमा धान पनि रोपेका थिए । केही भेडा र गाई पालेका थिए । भेडा, गाई त जोगिए, अरू सबै खेती बग्यो । ‘अर्कोले देला भनेर हात थापेर बसेर भएन । कसैले आएर दिइहाले हात थाप्ने हो । पाएन भने के गर्ने ? यस्तो वेला कसलाई के भन्नु,’ उनले भने । 

जसले जे दिन्छ, त्यही खाएर ज्यान बचाइरहेका लक्ष्मीहरू
पानी पर्नेबित्तिकै सधैँजसो बाढी पस्ने भए पनि यसपटक बल्खु खोलाआसपास बस्नेहरूलाई झन् धेरै क्षति पुर्‍यायो । १९ वर्षदेखि बल्खुखोला किनारमा बसिरहेकी लक्ष्मी पौडेललाई यति ठुलो बाढी आएको याद छैन । ‘यसपटकको बाढीले सबै डुबायो । प्रयोग गर्न मिल्ने केही सामान छैन,’ घरभित्र छिरेको लेदो सफा गरिरहेकी उनले भनिन्, ‘लाएको लुगाबाहेक केही निकाल्न पाइनँ । पानी पर्न थालेपछि नजिकै रहेकी छोरीको डेरामा गएको थिएँ । होइन भने ज्यान पनि भन्न सकिन्थ्यो होला ।’ बाढीले सबै डुबाएपछि जसले जे दिन्छन्, त्यही खाएर बाँच्ने प्रयास गरिरहेकी छिन्, उनी । ‘बस्तीको मान्छेले कताबाट खाना पकाएर ल्याएका रहेछन् त्यही खाएर बाँचेका छौँ,’ उनले भनिन् । उनी चिया बेच्दै आएकी थिइन् । ७३ वर्षीय श्रीमान् केही गर्न सक्दैनन् । उनीहरूसँग अपांगता भएको एउटा नाति पनि छ । छोराबुहारी छुट्टै बस्छन् । उनलाई अचेल कसैले दिने भात पनि ठुलो राहत भएको छ । ‘वडा, नगरपालिकाका कोही पनि आएनन् नि ! यस्तो वेला खाने र बस्ने व्यवस्था गरिदिए पनि धेरै हुन्थ्यो,’ उनले भनिन् । 

६१ वर्षीया लक्ष्मी बलामीले पनि घरभित्र बाढी पसेपछि सामान केही निकाल्न पाइनन् । बल्खुखोलाकिनारमै चियापसल चलाएकी उनको पसल र सामान सबै बाढीले डुबायो । केही बगायो, बाँकी हिलाम्य छन् । ‘हिजो एक ट्याम र आज एक ट्याम भात खाइयो । अब भोलि के होला थाहा छैन,’ उनले भनिन् । करिब ३२ वर्षदेखि यहाँ बस्दै आएकी उनले पसल चलाएको चार वर्षजति भयो । ‘कसैले पनि सहयोग गरेका छैनन् । दुःखसुख गरेर खाइरहेकी थिएँ । भएको पनि लगिदियो । अब के गर्ने ?’ उनले भनिन् ।

खानाको व्यवस्था गरिदिन सरकारसँग पीडितको माग
बल्खुकिनारमै बस्ने ६० वर्षीय मानबहादुर थापाको अवस्था पनि उस्तै छ । उनले अझै पनि घरमा पसेको लेदो सफा गर्न सकेका छैनन् । घरभित्र मरेका नौ कुखुरा र एक सय बट्टाई फाल्नेबाहेक थापासँग लेदो सफा गर्ने आँट र जाँगर छैन । नुवाकोटका उनी बल्खुखोलाकिनारमा बस्न थालेको २० वर्ष भयो । तर, यस्तो बाढी पहिलोपटक देखेको बताउँछन् । खोलामा पानीको सतह बढ्न थालेपछि शनिबार बिहान २ बजेतिर उनी आफ्नो एकतले कच्ची घरबाट छिमेकीको दुई तले पक्की घर सरेका थिए । ‘हुन त शुक्रबार साँझबाटै सुतेनौँ । जाने ठाउँ कहीँ छैन । दुःखकष्ट गरेर पनि बस्न पर्छ भनेर यतै बस्यौँ,’ उनले भने, ‘लगाएको एक जोर लुगाबाहेक केही छैन ।’ उनले शनिबारदेखि एक छाक खाएर बसेको बताए । 

बागमती नदीले ल्याएको लेदो सफा गर्दै बल्खुका बाढीपीडित

विभिन्न सामाजिक संस्थाले खानाको व्यवस्था गरे पनि सरकारको उपस्थिति कतै छैन । ‘अहिलेसम्म नगरपालिकाका प्रतिनिधि भेटेको छैन । आउन त आए भन्ने सुनेको छु । तर, भेटेको छैन । राज्यले खानपिनको तत्काल व्यवस्था गरिदिएहुन्थ्यो,’ उनले भने । खोलाकिनारमा बस्ने कतिपयले खोलाकै धमिलो पानीले पखालेर केही सामान प्रयोग गर्न मिल्ने बनाएका छन् । यस्तैमध्ये एक हुन्, सखिना खातुन । १२ जनाको परिवारसहित बल्खुखोलाकिनारमा भाडामा बस्दै आएकी उनको पनि केही सामान बाढीले बगायो । केही प्रयोग गर्न नमिल्ने भयो । उनी अहिले सडकमै बस्छिन् । ‘लुगा, भाँडा, दराज सबै गरेर करिब दुई लाखजति क्षति भयो । कति सामान त बगाएर लग्यो । कोठाभरि लेदो छ, बस्ने अवस्थै छैन,’ उनले भनिन्, ‘केहीले भात बाँडेका छन्, त्यही खाइरहेका छौँ ।’ कबाडी संकलन गर्ने उनको परिवारका लागि खानेपानीको समेत समस्या छ । 

बल्खुखोलामा आएको बाढीले रोशन केसीको किराना पसलमा पनि क्षति पुग्यो । उनको कफी मेसिनसहित करिब दुई लाखजतिको सामानमा क्षति पुग्यो । चोभारका केसीले सबैतिर समस्या भएकाले अब सरकारले हेर्नुपर्ने बताए । ‘१५ वर्षजति भयो यहाँ पसल राखेको । तर, पहिलोपटक यस्तो देखियो,’ उनले भने, ‘मेरो घर छ, जागिर छ । म आफैँ म्यानेज गरिहाल्छु । केही नहुनेलाई त सरकारले सहयोग गर्नुपर्‍यो नि !’

हिलो नपन्छाए अर्को विपत्को जोखिम
काठमाडौं महानगरपालिका–१४ मा पर्ने बल्खु क्षेत्रमा बस्ने श्रवण कुमारले घरभित्र छिरेको हिलो सडकमा फालेका छन् । घरको पहिलो तलामा जमेको हिलो सडकमा फाल्दा सडक हिँडिसाध्य छैन । पानी, बिजुलीको समेत समस्या रहेको यो क्षेत्रमा यस्तै अवस्था रहे महामारी फैलन सक्ने उनीहरू बताउँछन् । ‘हिलोको कारण सडकमा हिड्नै मुस्किल छ । नगरपालिकाले निकालेर फाल्नुपर्ने हो, तर केही वास्ता गरेको छैन,’ उनले भने, ‘हिलो, माटो, फोहोर, दुर्गन्ध नहटाउने हो भने मान्छे बिरामी पर्न थाल्छन् । बुढाबुढी, बच्चा छन् । यही फोहोरका कारण मान्छे मर्‍यो भने के गर्ने ? बत्ती छैन, पानी छैन ।’ हिजो एकछिन महानगरको डोजर आएकोबाहेक अहिलेसम्म केही हुन नसकेको उनले बताए । 

उनी आफैं मधुमेहका बिरामी हुन् । उनकी श्रीमती मुटुरोगी हुन् । शनिबारदेखि बिजुली आएको छैन । ‘बस्तीमा यस्ता बिरामी धेरै छन् । बाढीमा फसेका मानिस निकाल्न प्रहरी प्रशासनका प्रतिनिधि आएका थिए, त्यसपछि कोही पुगेका छैनन्,’ उनले भने । 

सहयोगको अपेक्षा 
बालकुमारीकी रिभा महर्जनको घरको पहिलो तला बाढीले डुब्यो । घरमै रहेको किराना पसल पनि डुब्यो । बाढीले पसल डुबेपछि मात्रै थाहा पाएकाले केही सामान निकाल्न सकिनन् । उनले घर र पसल सफा गरेर भ्याएकी छैनन् । दुई दिनसम्म भोकै बसेकी उनले सोमबार अलिकति मःम खाएको बताइन् । ‘बर्बाद भयो नि ! पसलमै भएको दाल, चामल, गेडागुडी सबै भिज्यो । करिब ६ लाखजति नोक्सान भयो,’ उनले भनिन्, ‘अहिलेसम्म केही सहयोग पाएको छैन । यस्तो वेला त आउनुपर्ने नि ! अरू वेला त आफैँले गर्न सकिहाल्छ नि !’ खाजाघर खोलेर जीविकोपार्जन गरिरहेका थिए नरेश महर्जन । १३ वर्षदेखि सञ्चालित उनको खाजाघरको सबै सामानमा क्षति पुगेको छ । ‘धेरै क्षति भयो । खानेकुरा, लत्ताकपडा, फर्निचर धेरै सामानमा क्षति पुगेको छ । कसैले केही गरेको छैन । बुझ्न पनि आएको छैन,’ घरभित्रै बाढी पसेपछि दसैँअगाडि खाजाघर चलाउने हिम्मत उनमा छैन । 

दक्षिण ललितपुरमा सेनाको टोली पुग्यो
उपत्यकाको दुर्गम मानिने दक्षिण ललितपुरमा सोमबार सेनाको टोली पुगेको छ । सञ्चार, विद्युत् र यातायातबाट विच्छेद बनेको दक्षिण ललितपुरमा सूर्यदल गणको टोली सोमबार पुगेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) तुलसीबहादुर श्रेष्ठले बताए । उनका अनुसार उद्धारलाई प्राथमिकतामा राखेर काम भइरहेको छ । ‘आज बागमती गाउँपालिकाका तीनजनाको उद्धार भयो । सेनाको टोलीले त्यहाँ उद्धारलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ,’ श्रेष्ठले भने । दक्षिण ललितपुरमा भएको क्षतिको आधिकारिक सूचना अझै आउन नसकेको भन्दै उनले त्यहाँको स्थानीय तहसँग समन्वय गरेर मंगलबारदेखि राहत वितरण सुरु हुने बताए । 

सुझावित समाचार