शुक्रबार गोरखाको धार्चे गाउँपालिका– ७ लापुबेँसीबाट काठमाडौंका लागि छुटेको बस सम्पर्कविहीन भएको छ। ना.४ख २२७० नम्बरको बस सम्पर्कविहीन भएको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले नयाँ पत्रिकालाई जानकारी दिए ।
उनका अनुसार शुक्रबार बिहान ७ बजे लापुबाट छुटेको बस साढे १ बजे मुग्लिङ कटेको थियो । उनका अनुसार चालक गोरखा भीमसेन नगरपालिकाका मदन परियारसहित बसमा चारजना सवार थिए । त्यसमध्ये यात्रु एकजना र अरू तीनजना बसकै कर्मचारी रहेको बुझ्न आएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । उक्त गाडी काठमाडौंबाट मानिस ल्याउनका लागि गएको थियो ।
सम्पर्कविहीन भएको सो गाडी गोरखा दरौँदी यातायात सेवा प्रालिको हो । प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार शुक्रबार राति करिब १० बजे धादिङको खानीखोलासम्म सम्पर्कमा थियो । बस त्यसयता सम्पर्कविहीन बनेको छ ।