कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन् । आज दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपत्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।
मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । केही जिल्लामा मानवीय क्षति भएको छ । सडक, पुलपुलेसा पनि भत्किएका छन् । प्राकृतिक विपतकाे यो विषम परिस्थितिमा नागरिकको सेवामा सरकार तल्लीन छ । यात्राका क्रममा अलपत्र परेकाहरूलाई उद्धार गरी गन्तव्यमा पुर्याउने प्रयास भइरहेको छ । त्यसका लागि गृह मन्त्रालयको समन्वयमा आवश्यक प्रयास जारी रहेको कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ।
कार्यवाहक प्रधानमन्त्री सिंहले शनिबार गृहमन्त्री रमेश लेखक, सुरक्षा अंगका प्रमुखहरू, मुख्यसचिव, सचिवलगायतबाट देशभरको विपतकाे अवस्थाबारे जानकारी लिएका छन् । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सबैको समन्वयमार्फत विपतबाट प्रभावित व्यक्ति एवं परिवारको सेवामा सरकारका सबै अंग पूर्ण रूपमा परिचालन गरिएको उनको सचिवालयले जनाएको छ।
अहोरात्र सुरक्षाकर्मीहरू उद्धार, खोज, राहत र पुनर्स्थापनामा परिचालित भइरहेका, कर्मचारी, सामाजिक सेवाका क्षेत्रमा क्रियाशील संघसंस्था, राजनीतिक दल, नागरिक समाज र स्थानीयवासी आफैँ पनि लागिरहेका उल्लेख गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले यो विषम परिस्थितिमा विपतमा परी ज्यान गुमाउनेहरूप्रति नेपाल सरकारको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सबैलाई संयमित र एकताबद्ध भई पीडितको सेवामा परिचालित हुन आह्वान गरेका छन् । मौसमविद्हरूका अनुसार वर्षा अझै पनि जारी रहने भन्ने जानकारी प्राप्त भएकाले थप क्षति हुनबाट जोगिन अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न उनले सबैमा अनुरोध गरेका छन् । रासस