राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन विशेष समितिको निष्कर्षमा स्पष्ट हुन अपिल गरेका छन् । आफूलाई पक्राउ गर्ने हल्ला, संसदीय समितिको प्रतिवेदनको निष्कर्ष र राजनीतिक रूपमा भइरहेको आरोप–प्रत्यारोपबारे मंगलबार सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत उनले सहकारी ठगीमा आफू संलग्न नभएको संसदीय समितिको तथ्यमा राजनीति नगर्न अनुरोध गरे ।
प्रहरीले प्रशस्त अनुसन्धान गरेर, अहिलेको प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीले संसद् र संसदीय समितिबाटै आफ्नो संलग्नता नरहेको जानकारी गराएको उल्लेख गर्दै उनले संसद्को विशेष समितिले पनि सोही तथ्य फेला पारेको बताए । समीकरण परिवर्तन भएपछि तथ्यहीन राजनीति नगर्न उनले सत्तापक्षलाई अपिल पनि गरे । ‘जे भएको हो, त्योभन्दा नभएको कुरा गर्नु उचित हुँदैन,’ उनले भने, ‘भएको के हो भने संसदीय छानबिन समितिले लेखेरै सहकारी रकम अपचलनमा, दुरुपयोगमा, पैसा ल्याउन व्यक्तिगत रूपमा रवि लामिछानेको संलग्नता छैन, निवेदन दिएको छैन भन्ने कुरा स्पष्टसँग भनेको छ ।’
प्रतिवेदनले आफू कार्यरत रहेका वेला गोर्खा मिडियामा आएको रकमबारे कानुनी कारबाहीको भागीदार हुनुपर्छ है भनेर भनेको कुरालाई नकार्न नमिल्ने पनि लामिछानेले उल्लेख गरे । यी दुई कुरालाई छुट्याएर हेर्न उनले अपिल गरे । ‘संसदीय समितिले सहकारी ठगीमा रवि लामिछानेको संलग्नता छैन । ठगिएर आएको अवधिमा भएको कुराको कानुनी कारबाहीको सिफारिस गरेको छ । यसलाई छुट्याउनै पर्छ,’ उनले भने ।
‘सहकारीबाट पैसा ल्याउने प्रक्रियामा कुनै सहभागिता छैन भनेर प्रतिवेदनमा स्पष्ट रूपमा भनिएको र समिति सभापतिले अन्तर्वार्तामा अझ जोड दिएर स्पष्ट पारेको कुरालाई सत्तापक्ष कांग्रेस र एमालेका साथीहरूले बंग्याउन मिल्दैन,’ उनले भने, ‘तर, कहाँ जिम्मेवार हुनुपर्यो भने आफू कार्यरत रहेका वेला सहकारीबाट पैसा आएको छ भने त्यसको जिम्मेवारी लिनुपर्छ भनेर सिफारिस गरेको छ । यो कुरालाई मैले बंग्याउन मिल्दैन । किनकि यो लेखिएको, भएको कुरा हो । स्पष्ट भनिएको कुरा हो । समितिको सुझाव नकार्न सक्दैनौँ ।’
सहकारीमा पैसा ल्याउन संलग्नता छैन भन्ने कुरामा कसैको दुईमत नहुनुपर्ने भन्दै यसमा पनि विवाद गर्यौँ भने विषय अर्कैतिर जाने चेतावनी दिए । ‘पहिलो कुरामा साथीहरूले अडान लिन मिल्दैन । किनकि समितिले लिखित रूपमा भनेको छ । सभापतिले व्याख्या गर्नुभएको छ,’ उनले भने, ‘दोस्रो कुरामा म भाग्न मिल्दैन । आफू भएका वेलामा आएको पैसाको कानुनी रूपमा भागीदार हुनुपर्छ ।’