नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई एजेन्डाको रूपमा नभई सरकार परिवर्तनको बहानाको रूपमा उठाएकाले यसप्रति उनीहरू गम्भीर नभएको बताएका छन्।
संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा भएको ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘नयाँ गठबन्धन बनाउनुभन्दा दुई चार दिनअघिसम्म उहाँहरूले औपचारिक रूपमा कतै संविधान संशोधनको आवश्यकतामाथि छलफल गर्नुभएको थिएन,’ प्रचण्डले भने, ‘त्यसैले यो उहाँहरूको एजेन्डा होइन, कथा र बहाना मात्रै हो। सरकार परिवर्तनको हतियार मात्रै बनाइएको हो भन्ने प्रस्ट छ।’
वर्तमान संविधान शान्ति सम्झौताको अंग भएकाले शान्ति सम्झौताको हस्ताक्षरकर्ता दल र नेतासँग नै लुकाएर संविधान संशोधनको सहमति गर्नुको कुनै राजनीतिक अर्थ नभएको प्रचण्डको भनाइ थियो। उनले भने, ‘कांग्रेस एमालेका नेताहरूले आफ्नै पार्टीसँग पनि लुकाएर सम्झौता गर्नुभयो, जनतालाई पनि लुकाएर राखियो, तर जनताले सम्झौता देखाउन चुनौती दिन थालेपछि प्रधानमन्त्रीजीले संसदमा पढेर त सुनाउनुभयो। तर, त्यो पनि सक्कली हो कि नक्कली, अझै हस्ताक्षर देखिएको छैन।’
कथा र बहाना नभई एजेन्डाका हिसाबले अघि सार्ने हो भने संविधान संशोधन आवश्यक रहेको उनको भनाइ थियो। यद्यपि, संशोधनभन्दा अघि संविधानको कार्यान्वयनमा जोड दिनुपर्नेमा प्रचण्डले जोड दिए।