तेस्रो चरणसम्म शीर्ष स्थानमा रहेको कोशीले नेपाल पुलिससँग ४–० ले पराजित हुँदा शीर्ष स्थान गुमायो
नेपाल पुलिस क्लब राष्ट्रिय महिला लिगको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको चौथो चरणको पहिलो खेलमा शीर्ष स्थानको कोशी प्रदेशलाई ४–० ले हराउँदै पुलिसले शीर्ष स्थानमाथि कब्जा जमाएको हो । पुलिसलाई जित दिलाउन अनुष्का शेर्पा, मनीषा उपाध्याय, सम्झना लावती र अमृता जैसीले समान एक गोल गरेका थिए । पुलिसकी अमृता राष्ट्रिय टोलीकी खेलाडी हुन् ।
तेस्रो जितसँगै पुलिसले १० अंक जोडेको छ । कोशीको पहिलो हार हो । कोशीको समान खेलबाट ९ अंक छ । यसअघि विभागीय प्रतिद्वन्द्वी एपिएफसँग बराबरीमा रोकिएको पुलिसले दोस्रो खेलमा सुदूरपश्चिम र तेस्रो खेलमा बागमतीलाई पराजित गरेको थियो । कोशीले वालिङ नगरपालिका, बागमती युवा क्लब र कर्णाली प्रदेशलाई हराएको थियो ।
फर्ममा रहेको पुलिसविरुद्ध कोशी हाबी हुने अनुमान थियो । पुलिसले योजनाअनुरूप खेल्दै कोशीमाथि दबाब राख्यो । चोटका कारण पुलिसकी रक्षक पूजा रानाले कोशीविरुद्ध खेल्न पाइनन् । उनी एक साता मैदानबाहिर रहनेछिन् । प्रशिक्षक भोला सिलवालले पुलिसकी कप्तान निरु थापालाई ‘प्लेइङ सेट’मा खेलाएनन् । प्रशिक्षक सिलवालले सोचेभन्दा राम्रो नतिजा निस्केको बताए ।
कोशीविरुद्ध खेल्ने गाह्रो हुने देखिए पनि अन्तिममा सहज नतिजा आएको प्रशिक्षक भोलाले बताए । ‘कोशीले सुरुका तीन खेलमा गरेको प्रदर्शनअनुसार गाह्रो हुने अनुमान थियो । तर, खेलाडीले राम्रो प्रदर्शन गर्दै ३ अंक दिलाए,’ उनले भने, ‘हाम्रो पहिलो लक्ष्य शीर्ष पाँचभित्र अटाउने हो । अन्य खेल पनि जित्दै जाने योजना छ ।’ कोशीका प्रशिक्षक श्याम मानन्धरले पुलिसविरुद्ध खेल्न गाह्रो भएको प्रतिक्रिया दिए । उनले अभ्यास गर्ने मैदान नपाउँदा समस्या भएको बताए ।
दोस्रो हाफमा तीन गोल
कोशीले खेलमा दबाब बनाएको थियो । सुरुको १० मिनेटभित्र दुई आक्रमण गर्दै कोशीले पुलिसलाई दबाबमा राख्यो । राष्ट्रिय टोलीकी गोलरक्षकसमेत रहेकी पुलिसकी उषा नाथ पहिलो २० मिनेट निकै व्यस्त रहिन् । तर, २४औँ मिनेटमा दीपा अधिकारीको पासमा अनुष्काको गोलसँगै पुलिस लयमा फर्कियो । त्यसपछि पनि कोशीले गोलको थुप्रै अवसर बनायो । पुलिसको बलियो रक्षापंक्तिका अगाडि कोशीको केही चलेन ।
पदाधिकारीको प्रशिक्षणले खेलाडीले अभ्यास गर्न पाएनन्
कोशीका प्रशिक्षक मानन्धरले केन्द्रमा फुटबल खेल्न आउँदा अभ्यास गर्न नपाएको गुनासो गरेका छन् । पुलिससँग पराजित भएपछि उनले उपत्यकामा अभ्यास गर्न नपाएको बताएका हुन् । उनका अनुसार टोली मंगलबार नै एन्फा मैदानमा अभ्यास गर्न पुग्दा एन्फा महासचिव किरण राईलगायत पदाधिकारी खेल खेलिरहेका थिए । त्यसपछि अभ्यास नगरी फर्कनुपरेको थियो । ‘काठमाडौं आएपछि अभ्यास गर्न नै पाएका छैनौँ,’ मानन्धरले भने, ‘गतिलो भनेको यही मैदान हो । तर, यहाँ पनि एन्फा पदाधिकारी खेल्दा अभ्यास नै गर्न पाएनौँ ।’
उनले अभ्यास गर्न नपाए अरू टिमसँग पनि खेल्न गाह्रो हुने प्रतिक्रिया दिए । ‘हामीले सुरुका तीन खेल खेल्यौँ । तीनै खेल विभागीय टिमबाहिरका थिए । नतिजा पनि अनुकूल आएको थियो । अब िवभागीय टिमसँग खेल्दा बढी अभ्यास गर्नुपर्ने हुन्छ । तर, हामीसँग अभ्यास गर्ने मैदान नै छैन,’ उनले भने ।