‘जिआइओएमएस’ प्रणाली लागू भएपछि शिक्षा मन्त्रालयको प्रशासनिक काममा सहजता

सबै मन्त्रालयमा लागू गर्ने सरकारको तयारी

मंगलबार, २५ भदौ, २०८१
डिजिटल संस्करण

शिक्षा मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) लागू गरेपछि प्रशासनिक काममा सहजता भएको छ । कार्यालयका कामकाजलाई पेपरलेस बनाउँदै प्रविधियुक्त बनाउन तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले १ साउनदेखि यो सफ्टवेयर प्रणालीमा आधारित जिआइओएमएस प्रणाली कार्यान्वयन गर्ने घोषणा गरेकी थिइन् । यो प्रणाली लागू भएपछि मन्त्रालयका कर्मचारीले सफ्टवेयर सिस्टमबाट काम गर्न थालेका छन् । 

चिठीपत्र दर्ता/चलानीदेखि कार्यालय प्रमुखहरूका तोक र निर्णयका कामसमेत सफ्टवेयरबाटै गरिन्छ । जसकारण फाइल रेकर्ड राख्न र कुन फाइल कहाँ छ भनेर थाहा पाउन सहज भएको छ । यो सिस्टम प्रयोग गर्न थालेपछि कागजी फाइलको ठेली बोकेर कार्यालयका हाकिमहरूको तोक लगाउन कुद्नुपर्दैन । जुन शाखा वा महाशाखाको फाइल हो स्क्यानिङ गरेर सफ्टवेयरमा अपलोड गरेर सम्बन्धित व्यक्ति वा महाशाखालाई फरवार्ड गरे पुग्छ । त्यहाँबाट तोक लगाएर पुनः सिस्टममा अपलोड गर्नुपर्छ ।

केशव दहाल, प्रवक्ता शिक्षा मन्त्रालय
हामीले कार्यालयसँग सम्बन्धित सबै फाइल सिस्टममै राख्छौँ, जुन शाखा वा कर्मचारीकहाँ पुग्नुपर्ने हो त्यहाँ अनलाइन सिस्टमबाटै पुग्छ । सम्बन्धित शाखा महाशाखाको कर्मचारीले पनि अनलाइनबाटै फाइलमा काम गरेर सिस्टममा अपडेट गर्नुहुन्छ । मन्त्रीज्यूले पनि सिस्टमबाटै काम गर्नुहुन्छ । 

शिक्षामन्त्री विद्या भट्टराईले पनि प्रणालीमा जाने लक्ष्य सरकारकै नीति तथा कार्यक्रममै आधारित योजनाअनुरूपको भएकाले सकेसम्म कार्यालयका सबैजसो कामकाजको रेकर्ड यही प्रणालीबाटै राख्न र गर्न निर्देशन पनि दिएकी छन् । काममा वैज्ञानिक प्रणाली लागू गर्न र प्रशासनिक चुस्तताका लागि लागू गरिएको यो प्रणालीले दैनिक कामकाजमा सहज भएको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता केशव दहालले जानकारी दिए । ‘हामी कार्यालयसँग सम्बन्धित सबै फाइल सिस्टममै राख्छौँ, जुन शाखा वा कर्मचारीकहाँ पुग्नुपर्ने हो त्यहाँ अनलाइन सिस्टमबाटै पुग्छ । सम्बन्धित शाखा महाशाखाको कर्मचारीले पनि अनलाइनबाटै फाइलमा काम गरेर सिस्टममा अपडेट गर्नुहुन्छ । मन्त्रीज्यूले पनि सिस्टमबाटै काम गर्नुहुन्छ, यसो गर्दा निकै सहज हुने रहेछ,’ उनले भने, ‘फाइल हराउने, फाइल बिचमै अड्किने, फाइल लुकाउनेजस्ता समस्या हुँदैनन्, जुन कर्मचारीले त्यो फाइल हेरेको छ सिस्टमबाट थाहा हुन्छ ।’

जिआइओएमएस’ प्रणाली प्रयोग गर्दा कार्यालयका हरेक कामकारबाही पारदर्शी हुने र फाइल हराउने समस्या नहुने उनको भनाइ छ । शिक्षामन्त्रीले सीधै कुन फाइल कस्तो अवस्थामा छ र कसले काम नगर्दा फाइल अड्कियो भनेर पत्ता लगाउनसमेत सहज दहालले बताए । ‘यदि कुनै कर्मचारीले गलत फाइल वा विवरण पेस गरेका छन् भन्ने पनि थाहा हुन्छ । शिक्षा मन्त्रालयले यसलाई पूर्ण रूपमा कार्यालय गरिएको र यसले नतिजा पनि प्रभावकारी दिएको छ,’ उनले भने । तर मन्त्रालयले कार्यान्वयनमा ल्याएको यो प्रणालीअनुसार काम गर्न केही कर्मचारीलाई भने कठिन हुने गरेको छ । कम्प्युटर चलाउन नजान्ने र प्रविधि नबुझेका व्यक्तिलाई यो प्रणाली कठिन बन्ने गरेको छ ।

सरकारले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रममा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गर्ने घोषणा गरेको थियो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गरिने बताएकी थिइन् । तर, पनि अधिकांश सरकारी कार्यालयमा यो प्रणाली लागू हुन सकेको छैन । 

स्वास्थ्य मन्त्रालयमा कार्यान्वयन नै हुन सकेन 
सरकारले सबै मन्त्रालय र सरकारी कार्यालयमा जिआइओएमएस प्रणाली लागू गर्न खोजेको छ । तर, पनि सबैजसो मन्त्रालयहरूले यो प्रणालीलाई पूर्ण पालना गरेको पाइँदैन । स्वास्थ्य मन्त्रालयमा जिआइओएमएस प्रणालीअनुसार कामकाज हुन सकेको छैन । यहाँ कर्मचारीले बोकेरै फाइल ओहोरदोहोर गराउँछन् । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार लेखा र आर्थिक विषयसँग सम्बन्धित काम जिआइओएमएस प्रणालीबाट भए पनि अन्य कामकाज पूर्ण अनलाइन तथा प्रविधियुक्त बनाउन सकिएको छैन ।  कर्मचारीहरू प्रविधिमैत्री नहुँदा यो प्रणाली लागू गर्न कठिन भइरहेको उनले बताए । 

सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठका अनुसार सबै सरकारी कार्यालयका कर्मचारीलाई तालिम दिएर यो सफ्टवेयर लागू गर्न निर्देशन दिने निकाय विभाग नै हो । ‘हालसम्म ११५ वटा निकायले यो प्रणाली प्रयोग गरिसकेका छन् । तर उहाँहरू पनि पूर्ण अभ्यस्त भइसक्नुभएको छैैन,’ उनले भने, ‘संघीय मन्त्रालयहरूमध्ये स्वास्थ्य र सामान्य प्रशासन मन्त्रालयबाहेक अन्यले यही सिस्टमअनुसार काम कारबाही गर्नुभएको छ ।’

सुझावित समाचार