५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धका रिट : आधा कार्यकाल सकियो, अदालतबाट टुंगिएन वैधताको विषय

तीनजना उपस्थित भए पनि गणपूरक संख्या पुग्ने गरी अध्यादेश जारी गरी भएको थियो नियुक्ति

बिहिबार, २० भदौ, २०८१
डिजिटल संस्करण

संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गरी अध्यादेश ल्याई ५२ संवैधानिक पदमा नियुक्ति गरेको विषयको रिट साढे तीन वर्षदेखि टुंगिन सकेको छैन । संवैधानिक पदमा रहेकाको कार्यकाल ६ वर्ष हुने गरेकोमा आधाभन्दा बढी समय गुज्रिसकेको छ, तर अदालतले कुनै निर्णय दिन सकेको छैन । 

झन्डै साढे तीन वर्षदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा अग्राधिकार दिई सुनुवाइमा राखिएको यो मुद्दा बुधबार पनि हेर्न नमिल्नेमा पर्यो । यो मुद्दा बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा परेको थियो । तर, लगाउमा रहेका दर्जनभन्दा बढी ती रिट हेर्न नमिल्नेमा परे । न्यायाधीश रेग्मीका दाइ माधवप्रसाद रेग्मी लोकसेवा आयोगको अध्यक्ष नियुक्त भएकाले उनले हेर्न नमिल्ने भएको हो । अब यी रिटको सुनुवाइ चार महिनापछि मात्र हुने भएको छ । सर्वोच्च प्रशासनका अनुसार १७ पुसका लागि अर्को पेसी तोकिएको हो । 

संवैधानिक निकायमा नियुक्तिविरुद्ध १ पुस ०७७ देखि १० साउन ०७९ सम्म १५ वटा रिट दायर भएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू ओमप्रकाश अर्याल, कीर्तिनाथ शर्मा पौडेलका साथै डा. पुण्यप्रसाद खतिवडालगायतले विभिन्न मितिमा रिट दायर गरेका हुन् । अर्याल, शर्मा र त्रिपाठीलगायतको रिटमा ती नियुक्ति संविधान र कानुनविपरीत रहेको दाबी गरिएको छ । 

तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईपटक गरी ५२ जनालाई विभिन्न संवैधानिक पदमा नियुक्त गरेका थिए । तर, अध्यादेशमार्फत ऐन संशोधन गरी नियुक्त गरिएकोमा खारेजीको माग गर्दै रिट दर्ता गरिएको थियो । संवैधानिक पदाधिकारीहरू नियुक्तिको मितिबाट ६ वर्षसम्म पदमा रहन्छन् । तर, पदमा आधा समय बितिसक्दा पनि सर्वोच्चबाट उनीहरूको नियुक्तिको वैधताको विषयमाथि अझै फैसला आएको छैन ।

३० मंसिर ०७७ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) ऐन राष्ट्रपतिद्वारा प्रमाणीकरण भएको थियो भने सोही साँझ प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना गरी तीनजनाको बैठक बसी विभिन्न आयोग तथा निकायमा ३८ जनाको नियुक्ति सिफारिस गर्ने निर्णय भएको थियो । 

यसको भोलिपल्टै १ पुस ०७७ मा अधिवक्ता अर्यालले रिट दर्ता गरेका थिए । तर, आठ महिनापछि ०७८ भदौमा मात्र उक्त रिटमाथि पहिलो सुनुवाइ भएको थियो । यस्तो नियुक्ति दुई चरणमा भएका कारण यसै विषयमा दर्जनभन्दा बढी रिट परेका हुन् । प्रतिनिधिसभा विघटनलगायत परिस्थितिले गर्दा नियुक्त भएका पदाधिकारीको संसदीय सुनुवाइसमेत हुन सकेको थिएन । ४५ दिनपछि स्वतः नियुक्त हुने भन्दै उनीहरूले नियुक्ति बुझेर हालसम्म काम गर्दै आएका छन् । संविधानले अनिवार्य गरेको सुनुवाइ नगरी नियुक्ति गरिएकाले पनि निवेदकहरूले रिटमा नियुक्ति खारेजीको माग गरेका हुन् ।

तीनजना उपस्थित भए पनि गणपूरक संख्या पुग्ने गरी अध्यादेश जारी गरी भएको थियो नियुक्ति
संवैधानिक परिषद् ऐनमा परिषद्का अध्यक्षसहित ६ सदस्यमध्ये पाँच उपस्थित भए मात्र गणपूरक संख्या मानिने र निर्णय लिन सकिने व्यवस्था थियो । तर, ओलीले त्यसलाई संशोधन गरेर तीनजना उपस्थित भए पनि बैठकको गणपूरक संख्या पुग्ने गरी अध्यादेश ल्याइएका थिए ।

अध्यादेश आएपछिको बैठकमा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र सदस्यद्वय प्रधानन्यायाधीश जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मिलेर नियुक्तिको निर्णय गरेका थिए ।

बैठकमा परिषद्का सदस्य रहेका तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए । परिषद्को सदस्य रहने उपसभामुख पद भने रिक्त थियो । यस विषयमा तत्कालीन सभामुख सापकोटाले २३ माघ ०७७ मा सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

यी सबै मुद्दा चल्दै गर्दा फेरि पनि परिषद् बैठकले २१ वैशाख ०७८ मा २० जनाको नियुक्ति सिफारिस गर्यो । सो बैठकमा पनि प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश जबरा र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना सम्मिलित थिए । यस रिटमाथि सबै विपक्षीले लिखित जवाफ पेस गरिसकेका छन् ।

See More On

सुझावित समाचार