अन्धोपन न्यूनीकरणका लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले स्थानीय पालिकासँगको सहकार्यलाई निरन्तर जारी राखेको छ। यस क्रममा नेपाल आँखा अस्पताल र काठमाडौं महानगरपालिका वडा नम्बर १२ बिच सम्झौता भएको छ । सम्झौतामा अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईं र काठमाडौं– १२ का वडाध्यक्ष बालकृष्ण महर्जनले मंगलबार हस्ताक्षर गरे ।
कार्यकारी निर्देशक गोसाईंका अनुसार सम्झौतामा काठमाडौं– १२ मा मोतियाविन्दु छनोट शिविर, सार्वजानिक विद्यालयमा आँखा जाँच तथा उपचार कार्यक्रम तथा वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाका लागि आँखा उपचारसम्बन्धी प्राथमिक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ । शिविरमा मोतियाविन्दु शल्यक्रियाका लागि छनोट भएका बिरामीको आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिनेछ भने दृष्टि न्यून भएका विद्यार्थीका लागि निः शुल्क चस्मा वितरण गरिनेछ ।
अस्पतालले यसप्रकारको सहकार्य काठमाडौं– ११, ललिपुर महानगरपालिका– १८ र चन्द्रागिरि नगरपालिका – ७ सँग गरिसकेको छ । अस्पतालका कार्यकारी निर्देशक गोसाईंका अनुसार आँखा उपचारसम्बन्धी सबै उपचार सेवा प्रदान गरिराखेको सो अस्पतालले विगत वर्ष एक लाख ७५ हजारलाई बहिरंग सेवा, १२ हजार शल्यक्रिया सेवा, घुम्ती आँखा उपचार सेवा प्रदान गरेको थियो ।
अस्पतालले बाराको सिमरा, गोरखाको भच्चेक र काठमाडौं उपत्यकाका तीन स्थानमा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालन गरिरहेको छ ।