पातारासी गाउँपालिका– ४ लुमस्थित जवा नदीको काठेपुलबाट मोटरसाइकल खस्दा चालक बेपत्ता भएका छन्। मोटरसाइकलचालक सोही गाउँपालिका– ७ रिनी निवासी २८ वर्षीय हरिकृष्ण बुढा जवा नदीमा बेपत्ता भएका हुन् ।
बुधबार बिहान ८ बजे लासी बजारबाट तल्फी जाने क्रममा लुमको काठेपुलबाट क.१प १८२० नम्बरको मोटरसाइकल जवा नदीमा खसेको थियो । मोटरसाइकलमा सवार यात्रु पातारासी गाउँपालिका– ७ रिनीका का २७ वर्षीय जयबहादुर खड्काको भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उमेश चन्दले बताए ।
उनका अनुसार बेत्तपा चालकको खोजीकार्य जारी रहेको छ भने यात्रु खड्कको सकुशल उद्धार गरिएको छ । स्थानीय जगत शाहीले पातारासीको हिमालय संस्थामा कार्यरत हरिकृष्ण बुढा पुल क्रस गर्दै गर्दा खोलाले पुलमाथि बगाएर ल्याएको ढुंगामा बाइक चढाउँदाचढाउदै बाइक नदीमा खसेको र बाइकसँगै दुवैजना बगे पनि केही मिटर तलबाट जयबहादुर खड्का उत्रिन सफल भएको बताए ।
तर, हरिकृष्ण बुढा भने बेपत्ता रहेको उनको भनाइ छ । बर्खाको समयमा प्रायः खोलाले ढुंगा बगाएर ल्याउने र यात्रा असहज हुने भएकाले सुधार गर्नतर्फ सरोकारवालाले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।