कमसल ग्राभेल गरी छाडिएको खार–खलंगा सडक नदी कटानले बगाएपछि स्थानीय गाउँभित्रै बन्धक छन्, खराब बाटोका कारण हप्तैपिच्छे गाडी मर्मत गर्नुपर्ने सवारीचालकको बाध्यता
सुदूरपश्चिमको ‘प्रदेश गौरव आयोजना’मा समेटिएको खलंगा–देथला सडक बर्सातका कारण खोलामा आएको बाढीले ठाउँ–ठाउँमा अवरुद्ध भई आवतजावत ठप्प भएको छ ।
खार–खलंगा सडक बनेयता नौगाडवासीलाई जीविकोपार्जन गर्न सहज भएको थियो, तर यही सडक अहिले जोखिमपूर्ण बनेको छ । स्थानीय भोजराज भट्टका अनुसार डुंगरीनजिकैको सडक नदीले कटान गरेको छ । ‘डुंगरी खोलाले सडक कटान गर्दा आवतजावत हुन सकेको छैन,’ उनले भने ।
हिउँदमा सुचारु हुने सडक बर्खामा बर्सेनि अवरुद्ध हुने गरेको छ । यो सडकबाट महाकाली नगरपालिका २ र ३ का स्थानीय र नौगाड क्षेत्रका बासिन्दा आवतजावत गर्ने गरेका छन् ।
नौगाडको दल्लेख खार तथा महाकाली नगरपालिकाको मुल्ला, सेलालगायतका क्षेत्रमा उत्पादित तरकारी ढुवानी हुने बाटो अवरुद्ध भएकाले धेरै मर्कामा परेको स्थानीय किसान हरकसिंह साहुले गुनासो गरे । ‘अहिले सडक अवरुद्धसँगै गाडी गाउँमा आउन बन्द भएपछि सामान त के आउजाउमा समेत निकै समस्या भइरहेको छ,’ उनले भने ।
ग्राभेल गरेर छाडिएको सडक लामो समयदेखि स्तरोन्नतिको पर्खाइमा छ । पर्याप्त घुम्तीसमेत नराखिएकाले डुंगरी, काटै, सेलामोड र दल्लेख पुग्दासम्म गाडी चलाउन निकै चुनौती रहेको चालक विशनसिंह नगाल बताउँछन् । ‘गाडी चलाउनु मात्रै पर्छ, खराब बाटोका कारण एक हप्तामै बिग्रन्छ,’ उनले भने ।
उद्योग वाणिज्य संघ दार्चुलाका पूर्वअध्यक्ष मंगलसिंह ठगुन्नाले खार–खलंगा सडक अवरुद्ध हुँदा स्थानीयको आवतजावतसँगै किसानको तरकारी ढुवानीमा पनि समस्या भइरहेको बताए । सडक सुचारु गर्न महाकाली नगरपालिकाको ध्यानाकर्षण गराएको र प्रमुख प्रशासकीय अधिकृत नरसिंह बडाललगायत प्राविधिकको समूहले निरीक्षण गरी चाँडै सञ्चालनमा ल्याउने जानकारी दिएको ठगुन्नाले बताए ।
त्यस्तै, दार्चुला–तिंकर सडकखण्डको लास्कु खोला र निजाङगाड खोलामा मोटरेबल पुल नहुँदा सवारी आवागमनमा सास्ती हुने गरेको छ ।
०७९ भदौमा आएको लास्कु खोलाको बाढीले निर्माणाधीन मोटरबेल पुल बगाएको थियो । त्यसयता पुल निर्माणमा कसैले चासो दिएका छैनन् । अहिले पुलको एकापट्टि मात्रै पिलर छ ।
दार्चुला–तिंकरअन्तर्गतकै दुहुँ गाउँपालिकाबाट व्याँस गाउँपालिकासम्म पुग्ने सडक पनि सुधार भएको छैन । सडक नहुँदा व्याँसका स्थानीय अहिले भारतीय बाटो हुँदै खाद्यान्न ढुवानी र आउजाउ गर्ने गर्छन् । व्याँस–२ का स्थानीय प्रभात बुढाथोकी सडक नभएकै कारण कष्टकर जीवन बिताउन बाध्य भइरहेको दुखेसो गरे ।