संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न देशहरूबाट सीधा उडान गराउन अग्रसरता देखाएका छन् । गुजरातमा आयोजित आठौँ अन्तर्राष्ट्रिय धर्म–धम्म सम्मेलनमा भाग लिन गएका उनले गुजरातका मुख्यमन्त्री भूपेन्द्र पट्टेललगायतसँग नेपालमा धार्मिक पर्यटक भिœयाउन गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान गर्न आग्रह गरेका हुन् ।
मन्त्री पाण्डेले गुजरातका मुख्यमन्त्री पट्टेलसँगको भेटमा भारतको सोमनाथधाम र पशुपतिनाथ धामको अन्तरसम्बन्धलाई जनस्तरसम्म विस्तार गर्ने विषयमा छलफल गरेका थिए । उनले गुजरातबाट पोखरामा सीधा हवाई उडानका लागि पहल गरिदिन मुख्यमन्त्रीसँग आग्रहसमेत गरेका छन् । छलफलका क्रममा पोखरा र लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई इन्धनलगायत विभिन्न शुल्कमा छुट–सहुलियत दिएको पनि जानकारी गराए ।
सरकारले भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सुरक्षालगायत शुल्कमा शतप्रतिशतसम्म छुट दिएको छ । हालै मन्त्रिपरिषद्बाट स्वीकृत भैरहवा र पोखरा विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनामा ग्राउन्ड ह्यान्डलिङ सेवामा ७५ प्रतिशत छुट र हवाई इन्धनमा विशेष सहुलियत दिने विषय समेटिएको छ । यसअघि ग्राउन्ड ह्यान्डलिङ सेवामा ५० प्रतिशत छुट दिइएको थियो । निगमले पोखरा र भैरहवामा उडान गर्ने अन्तर्राष्ट्रिय वायुयानलाई हवाई इन्धनमा प्रतिकिलोलिटर एक सय अमेरिकी डलर छुट दिने निर्णय गरिसकेको छ ।
भारतीय उड्डयन नियामक निकायले भैरहवा र पोखरामा सीधा उडानका लागि अनुमति दिन आनकानी गर्दै आइरहेको छ । पोखरा विमानस्थल उद्घाटनकै दिनदेखि बनारसमा सीधा उडान गर्ने तयारी गरेको बुद्ध एयरले भारतबाट अनुमति नपाउँदा अहिलेसम्म उडान गर्न पाएको छैन । भारतले अनावश्यक रूपमा पोखरा र भैरहवा विमानस्थललाई चीनको बिआरआई प्रोजेक्टसँग जोडेर उडान अनुमति दिन चाहेको छैन । भैरहवा विमानस्थलमा जडान गरिएको इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) सञ्चालनका लागि पनि भारतले अनुमति दिएको छैन । यस्तै, भारतले पश्चिमतर्फका हवाई प्रवेश रुट उपलब्ध गराउन आनकानी गर्दै आइरहेको छ ।
कम्बोडियाका संस्कृति तथा धर्म राज्यमन्त्री नगुन सेडपिकडसँगको भेटमा मन्त्री पाण्डेले भगवान् बुद्धको जन्म नेपालमा भएको र बुद्ध धर्मको विस्तार कम्बोडियामा भएको ऐतिहासिक पक्ष उजागर गर्दै कम्बोडियाका बौद्ध धर्मावलम्बीलाई बुद्ध जन्मस्थलको भ्रमणमा ल्याउने वातावरण बनाउन आग्रह गरे ।
भुटानका गृहमन्त्री छिरिङसँग भुटानको थिम्पुबाट सीधै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न आग्रह गरेका थिए । भुटानबाट ड्रुक एयरले पोखरामा सीधा उडान गर्न चासो राखेको छ । भेटमा भुटानी गृहमन्त्रीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटानले स्तूपा निर्माण गर्न चाहेको र आवश्यक सहयोग गर्न आग्रह गरेका थिए ।