उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोस्न खोजेको भनेर भइरहेको प्रचारमा सत्यता नभएको बताएका छन्।
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा (एमाले) जनताको अधिकारका लागि लडेको दल भएको जिकिर गरे।
‘संविधान संशोधन गरेर सरकारले भएको अधिकांश व्यवस्था कटौती गर्छ भन्ने दुष्प्रचार भइरहेको छ। कांग्रेस र एमाले अधिकारका लागि लडेको दल हो, यी दुई दल सरकारमा गएर त्यो कटौती हुँदै छ भनेर गरिएको हल्लामा कुनै सत्यता छैन,’ उनले भने।
राजनीतिक स्थायित्व दिन कांग्रेस एमालेसँग मिलेको उपप्रधानमन्त्री सिंहले बताए।
‘सात–आठ महिनामा सरकार परिवर्तन भइराख्ने, टिक्ने वा नटिक्ने अन्योलमा रहने सरकारले केही गर्न नसक्ने भएकाले ठूला दुई दल मिलेका छौँ, यो सरकार बनेपछि अर्थतन्त्रलाई लयमा ल्याउन सकारात्मक प्रयास भइरहेको छ। अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले काम गरेर देखाउँछ,’ उनले भने।