थामे बाढीपीडितको बिचल्ली : भन्छन्– बस्ने ठाउँ र गर्ने काम चाहियो

सोमबार, ३ भदौ, २०८१
डिजिटल संस्करण

सोलुखुम्बुको थामेका बाढीपीडितको बिचल्ली भएको छ । ३२ साउनमा हिमताल फुटेर आएको बाढीबाट घरसहित धनमाल गुमाएका खुम्बु पासाङल्हामु गाउँपालिका– ५ थामेगाउँका बाढीपीडितको बिचल्ली भएको हो । यहाँका ६५ घरका करिब १२० जना दिनमा भोक न रातमा निद्राको अवस्थामा छन् । बाढीले बगाएका १५ घरका स्थानीय अहिले माथिल्लो थामे क्षेत्र (थामे थिङ)मा आफन्तको घरमा सहारा लिएर बसिरहेका छन् ।

सामुदायिक भवन, गुम्बा र अन्यन्त्र बस्दा खानबस्नको समस्या भएपछि सबैजसो बाढीपीडित आफन्तको शरणमा पुगेका हुन् । थामेमा तल्लो र माथिल्लो दुईवटा बस्ती छन् । दुईमध्ये तल्लो थामेमा बाढीले बढी क्षति भएको छ । माथिल्लो थामे केही सुरक्षित भएकाले तल्लो गाउँका सबैजसो माथिल्लो थामेमा आफन्त र चिनजानका मानिसका घरमा बसिरहेका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाका अनुसार थामेमा १५ र तल्लो क्षेत्र टोकटोकमा दुई घर बाढीले बगाएको छ । १७ घर पूर्ण रूपमा विस्थापित भएका छन् । अन्य १० घर जोखिममा छन् । आसपासका घरमा पनि त्रासका कारण ढुक्कले बस्ने अवस्था छैन । पहिला बस्तीको एकातर्फ मात्रै रहेको थामे खोलाले धार परिवर्तन गरेर बस्ती बीचमा पसेको थियो । 

खुम्बु पासाङल्हामु गाउँपालिकाले प्रतिपरिवार ५० हजार र जिल्ला प्रशासन कार्यालयले १५ हजारका दरले नगद राहत दिएको थियो । पालिका र प्रशासनले नगद राहत दिए पनि थामेबाट नजिक बजार छैन । एकैपटक सिंगो गाउँलाई वैकल्पिक आवास र खानपानको व्यवस्था गर्न समस्या छ । पालिकाको केन्द्रबाट थामे पुग्न करिब १० घण्टा हिँड्नुपर्छ । गाउँ र सहर आवतजावत गर्न हेलिकोप्टर प्रयोग गर्नुपर्ने अवस्थाको गाउँमा बाहिरबाट राहत लगेर बाँड्ने सम्भावना छैन । सिंगो गाउँ प्रभावित भएकाले आसपासका आफन्तले धेरै दिन आश्रय दिन सक्ने अवस्था छैन । 

थामेगाउँमा करिब ६५ परिवार छन् । त्यहाँका अधिकांश पुरुष पर्यटन व्यवसाय र केही रोजगारीका लागि गाउँबाहिर छन् । गाउँमा धेरैजसो महिला र बालबालिका बस्छन् । यहाँका महिलालाई यतिवेला बालबालिका सम्हालेर विपत्तिको सामना गर्न गाह्रो छ । जीवनभर दुःख गरेर जोडेको सम्पत्ति, घरघडेरी, लत्ताकपडा, सुन र नगदसहितको सबै सम्पत्ति बाढीले बगाएको स्थानीय तारा शेर्पाले बताइन् । तारा बस्नेत थामेमा शेर्पासँग विवाह गरेर आएको लामो समय भयो । यति ठूलो विपत्ति आउने कल्पना नगरी भौतिक संरचना निर्माण र भएभरको जायजेथा घरमै राखेकाले शून्यमा पुग्नुपरेको उनि बताउँछिन् । 

तत्कालका लागि वासस्थान र भविष्यमा काम गर्ने वातावरण मिलाइदिन थामेका स्थानीयले माग गरेका छन् । ‘सबैथोक गुमाउँदा हाम्रो बिचल्ली भयो । आफन्तको घरमा हारगुहार मागेर बस्नुपरेको छ, यसरी कति दिन चल्छ, भएको सबै गुम्यो, भोलिको सम्भावना पनि केही छैन अब के गर्ने होला ?’ तारा भन्छिन्, ‘हामीलाई बस्ने वास र गर्ने काम चाहियो । नत्र त भोकमारी लाग्ने अर्को चिन्ता छ ।’ शुक्रबार दिउँसो हिमताल फुटेर बाढी आउँदा थामे बजार बगरमा परिणत भएको थियो । मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचना ध्वस्त भएको छ । 

 थामे पुनर्निर्माणको मागपत्र प्रधानमन्त्रीलाई बुझाइयो 
सोलुखुम्बुका सरोकारवालाले थामे गाउँ पुनर्निर्माणको मागपत्र प्रधानमन्त्री केपी ओलीलाई बुझाएका छन् । सोलुखुम्बुका प्रतिनिधिसभा सदस्यसमेत रहेका रक्षामन्त्री मानवीर राईको नेतृत्वमा जिल्लाका प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्षसहितका स्थानीय तहका जनप्रतिनिधि र पार्टी प्रतिनिधिले प्रधानमन्त्रीलाई थामे बजार पुनर्निर्माणको योजनासहित मागपत्र बुझाएका हुन् ।

प्रधानमन्त्रीसँग तत्कालका लागि राहत र दीर्घकालीन रूपमा बसोवासका लागि बस्ती विकासको योजना माग गरिएको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले बताए । पालिकाको स्रोतले मात्रै थामे बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण सम्भव नभएकाले संघ र प्रदेश सरकारसँग अपिल गरिएको अध्यक्ष शेर्पाको भनाइ छ ।

बाढीमा बेपत्ता भएका भनिएका व्यक्ति सम्पर्कमा आए 
थामेको बाढीमा बेपत्ता भएका भनिएका व्यक्ति सम्पर्कमा आएका छन् । ३२ साउनदेखि सम्पर्कविहीन भएका स्थानीय ५५ वर्षीय नुरु टुडु शेर्पा आइतबार परिवारको सम्पर्कमा आएका हुन् । बाढी आएको समयमा होटेलमा बसेका शेर्पा लगत्तै विद्यालयतर्फ लागेको देखे पनि त्यसपछि सम्पर्कमा नआएको स्थानीय बताएका थिए । बाढीमा बेपत्ता भनिएका व्यक्ति सकुशल सम्पर्कमा आएसँगै थामे बाढीबाट कुनै मानवीय क्षति नभएको खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले जानकारी दिए । 

तारा बस्नेत शेर्पा, स्थानीय
सबैथोक गुमाउँदा हाम्रो बिचल्ली भयो । आफन्तको घरमा हारगुहार मागेर बस्नुपरेको छ, यसरी कति दिन चल्छ, भएको सबै गुम्यो, भोलिको सम्भावना पनि केही छैन अब के गर्ने होला ? हामीलाई बस्ने वास र गर्ने काम चाहियो । नत्र त भोकमारी लाग्ने अर्को चिन्ता छ ।

सुझावित समाचार