गल्फ उपाधि विष्टलाई

आइतबार, २ भदौ, २०८१
डिजिटल संस्करण

इन्द्रधारा विष्टले विश्वकै अग्लो स्थानमा रहेको दाबी गरिएको मुस्ताङ जिल्लाको लोमान्थाङमा भएको गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार सहभागी अन्य २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै आयोजकसमेत रहेका विष्टले उपाधि हात पारेका हुन् ।  उच्च उचाइको कारण ९ होलमा ३–४ ह्यान्डिक्यापको साथ स्टेबल फोर्ड ढाँचामा खेलाइएको प्रतियोगितामा विष्टले ३ होलमा पार, एउटामा त्रिपल बुगी र पाँचवटा होलमा बुगी प्रहार गदै ३ अन्डर २१ अंक हात पारेका थिए ।

नेपाल गल्फ एसोसिएसनका उपाध्यक्षसमेत रहेका फुर्साङ लामा ५ होलमा पार, एउटामा डबल बुगी र अन्य ३ होलमा बुगी हिर्काउँदै २ अन्डर २० अंक हात पार्दै उपविजेता बने । पुरुषतर्फको ग्रस उपाधि गैरआवासीय नेपाली संघ अमेरिकाका निर्मल श्रेष्ठले जितेका उनले १४ अंक हात पारेका थिए । 

महिलातर्फको उपाधि पोखराकी बालकाशी गुरुङले हात पार्ने क्रममा ५ अन्डर २३ अंक बटुलिन् । धरानकी झुना राई ४ अन्डर २२ अंक बनाउँदै दोस्रो भइन् । प्रतियोगितामा संयोग शाहीले ‘लङगेस्ट ड्राइभ’, मेदाङ लामाले ‘क्लोजेस्ट टू दी पिन’को उपाधि हात पारिन् । लोमान्थाङ गाउँपालिकाको आयोजना समुद्र सतहबाट चार हजार ६५० मिटर उचाइमा रहेको कोर्समा सम्पन्न प्रतियोगितामा गैरआवासीय नेपालीसँगै पोखरा, काठमाडौं, धरान, बुटवललगायत स्थानका गल्फरहरूले प्रतिस्पर्धा गरेका थिए ।

सो कोर्सलाई वल्र्ड रेकर्ड कायम गराउन सँगै र विश्वको उच्चतम उचाइमा रहेको गल्फ कोर्सको रूपमा प्रचार र प्रतियोगितालाई विश्वस्तरमा प्रसार गर्ने उद्देश्य प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ । 

See More On

सुझावित समाचार