नालीमाथि संरचना बन्दा बुटवलको अमरपथ र आसपासका क्षेत्र डुबानमा पर्ने गरेको निष्कर्ष निकालिएको छ । बिहीबार बुटवल उपमहानगरपालिकाले त्यस क्षेत्रमा गरेको अनुगमनबाट त्यस्तो निष्कर्ष निकालेको हो। अनुगमनपछि वैकल्पिक उपायको खोजी गर्ने निर्णय गरिएको छ।
बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, वडाध्यक्षहरू र प्राविधिकहरूसहितको टोलीले इलाका प्रहरी कार्यालयदेखि तिनाउ नदीसम्मको नाला र अमरपथ हुँदै कृषि मन्डीतर्फको नालाको अनुगमन गरेको थियो।
अनुगमनका क्रममा केही संघसंस्थाले नाला र नहरमाथि बनाएका संरचनाका कारण पानीको निकासमा अवरोध भएको र अमरपथदेखि कृषि मन्डीतर्फको नालाको वास्तविकता यकिन गर्न नसकिने भएकाले निकासमा समस्या देखिएको ठहर गरिएको उपमहानगरपालिकाले जनाएको छ।
विगतमा अमरपथदेखि बस्तीमुनिबाट मुख्य राजमार्ग कृषि मण्डी हुँदै तिनाउमा खस्ने पानीको निकासमा समस्या देखिएकाले अमरपथ क्षेत्र डुबान हुने गरेको पाइएको नगर प्रमुख खेलराज पाण्डेयले बताए । ‘कतिपय स्थानमा नहरमाथि संरचना बनाइएकाले त्यस्ता संरचनाका कारण बाढी आउँदा ओभरफ्लो भएर सडकमा पानी जम्मा हुने गरेको छ,’ उनले भने, ‘अमरपथको उत्तर पुलमुनिबाट कसरी पानी जाने निकास बनेको छ र त्यसको अवस्था के कस्तो छ भन्ने कुरा हेर्न गाह्रो रहेछ, त्यसवेला संरचना बनाउँदा सरसफाइ गर्न सकिने गरी बनाइएको रहेनछ त्यसकारण पटकपटक डुबान भइरहेको छ ।’
उनले सडक र बस्तीको बीचबाट लगिएको निकासबारे अध्ययन गर्ने, सम्भव हुने स्थानसम्म सरसफाइ गर्ने र सहज विकल्प खोज्ने गरी नगरले योजना बनाउने निर्णय गरेको बताए ।
‘हामीले यसको पूर्ण समाधान एक–दुई दिनमै दिन सक्ने अवस्था रहेनछ, नालामा भरिएको फोहोर र माटो सरसफाइ गरेर निकासलाई केही सहज बनाउने काम छिटै नै सुरु गर्छौँ,’ उनले भने, ‘तर, यो दिगो समाधान होइन, दिगो समाधानका लागि अमरपथतर्फ पानी आउन नदिने गरी त्यसभन्दा माथिको भागबाट नहरको पानी तिनाउमा खसाल्नेबाहेक तत्काल अरू विकल्प देखिएनन्, हामीले प्राविधिक टिमलाई खटाएका छौँ, त्यसअनुसार दिगो व्यवस्थापनको काम हुन्छ ।’
उनले इलाका प्रहरी कार्यालयनजिकैबाट तिनाउमा पानी खस्ने गरी बनाइएको संरचना पनि सडकमुनिबाट रहेकाले त्यसको सरसफाइ गर्ने र केही पानी त्यहाँबाट बग्न सक्ने गरी व्यवस्था मिलाउने बताए। उपप्रमुख सावित्रादेवी अर्यालले तत्काल सम्भव भएसम्मको उपाय अपनाएर डुबान हुन नदिने गरी काम गर्ने बताइन्। उनले कतिपय स्थानमा नहरको क्षेत्र अतिक्रमण भएको र पानी बग्ने निकास रोकिएकाले डुबान भएको र यसको समाधानका लागि प्राविधिकसहितको टोली खटिएको बताइन् ।
वडाध्यक्षहरू हरिप्रसाद श्रेष्ठ र विष्णु ढकालले पानीको निकास हुने ठाउँहरूको अवरोध हटाउन सकेमा डुबानको समस्या केही कम हुने र दीर्घकालीन व्यवस्थापनका लागि विकल्प खोज्नुपर्ने बताए ।